बागमती प्रदेशसभा कात्तिक तेस्रो सातादेखि बस्ने तयारी

बागमती प्रदेशसभा कात्तिक तेस्रो सातादेखि बस्ने तयारी

९ कात्तिक, बागमती । लामो समयदेखि रोकिएको बागमती प्रदेशसभा को बैठक कात्तिक तेस्रो साता बस्ने तयारी भएको छ। प्रदेशका उपसभामुख अप्सरा चापागाईंका अनुसार छठ पर्वलगत्तै बैठक बोलाउने योजना अघि बढाइएको हो। यस सम्बन्धमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूसँग निरन्तर परामर्श भइरहेको उनले बताइन्।

राजनीतिक सहमति र तयारीका आधारमा बैठकको मिति तय गरिने उपसभामुख चापागाईंले बताइन्। उनका अनुसार सम्भवतः कात्तिकको तेस्रो सातातिर प्रदेशसभा आह्वान गर्नेबारे छलफल अन्तिम चरणमा पुगेको छ। लामो समयदेखि प्रदेशसभाको बैठक स्थगित रहँदा नीति–निर्माणका प्रक्रिया रोकिएका कारण राजनीतिक वृत्तमा चासो बढेको छ।

प्रदेशसभाको पुरानो सभाहल जेनजी प्रदर्शनका क्रममा तोडफोड र आगजनीबाट क्षतिग्रस्त भएपछि अस्थायी रूपमा मुख्यमन्त्री कार्यालयको सभाहल प्रयोग गर्ने तयारी गरिएको छ। हेटौँडा–२ स्थित सो सभाहलमा हाल मर्मत सम्भार, सरसफाइ, र रंगरोगनको काम तीव्र रूपमा भइरहेको छ।

प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलका अनुसार हलमा आवश्यक फर्निचर, ध्वनि प्रणाली, र विद्युतीकरणको काम अन्तिम चरणमा पुगेको छ। “भवनलाई प्रयोगयोग्य बनाउन सरसफाइ र व्यवस्थापनको काम भइरहेको छ,” उनले बताए। साथै, आगजनीबाट जोगिएका कम्प्युटर र उपकरणहरू पुनः प्रयोग गरेर प्रशासनिक काम सुरु गरिएको पनि उनले जानकारी दिए।

भौतिक पूर्वाधार मन्त्रालयको सहयोगमा सहरी विकास तथा भवन कार्यालयले सभाहलको पुनःसंरचना कार्य अघि बढाएको छ। पौडेलका अनुसार आवश्यक फर्निचर र प्राविधिक सामग्री अस्थायी रूपमा भाडामा लिएर व्यवस्थापन गरिनेछ। सबै तयारी पूरा भएपछि कात्तिक तेस्रो सातादेखि बागमती प्रदेशसभा पुनः सञ्चालन हुने अपेक्षा गरिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *