२० साउन, काठमाडौं — लामो समयदेखि धार्मिक, सामाजिक र समाजसेवामा सक्रिय देखिने चक्रे मिलन उर्फ मिलन गुरुङ फेरि एकपटक गुण्डागर्दीको आरोपमा प्रहरी हिरासतमा परेका छन्।
रुद्राक्षको माला, गेरु वस्त्र, टिका, गाईपूजा, मन्दिर दर्शन, परेवा र माछालाई आहार दिनेजस्ता गतिविधि गर्दै सामाजिक सञ्जाल—विशेषगरी टिकटक—मार्फत आफ्नो छवि समाजसेवीका रूपमा प्रस्तुत गर्दै आएका चक्रे मिलनविरुद्ध अहिले प्रहरीले समाजमा आतंक फैलाउने, युवाहरूको हुल बनाएर दबाब सिर्जना गर्ने, अभद्र व्यवहार प्रदर्शन गर्ने तथा गुन्डागर्दी गर्ने आरोप लगाएको छ।
९० हजारभन्दा बढी फलोअर्स भएको उनको टिकटकमा धार्मिक र सांस्कृतिक कार्यक्रमसँगै केटाहरूको भीड देखिन्छ, जसबाट प्रहरीको शंका थपिएको हो। हाल उनीसहित १९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने अनुसन्धानको क्रममा दुईथान खुकुरी र फलामको स्टिक समेत बरामद भएको छ। पछिल्लो जन्मदिन पार्टीमा प्रहरी पुगेपछि ४७ जना पक्राउ परेका थिए, जसमा स्क्रिनिङपछि १९ जनामाथि मुद्दा चलाइएको छ।
प्रहरीको क्रिमिनल रेकर्ड अनुसार चक्रेविरुद्ध अहिलेसम्म १२ भन्दा बढी मुद्दा दर्ता भइसकेका छन्, जसमध्ये ज्यान मार्ने उद्योग, अभद्र व्यवहार, लागुऔषध लगायतका आरोपहरू छन्। केही वर्ष शान्त देखिए पनि पछिल्लो समय उनले सामाजिक सञ्जालमार्फत आफूलाई पुनः प्रभावशाली बनाउन खोजेको प्रहरीको निष्कर्ष छ।
एमालेसँग नजिकिएका चक्रे गोरखाबाट प्रदेश चुनावको टिकट माग्ने तहसम्म पुगे पनि नपाएपछि उनी पुनः पुरानै शैलीमा फर्किएको देखिएको छ। लामो समयपछि चक्रे पुनः गुण्डागर्दीको आरोपमा पक्राउ परेका हुन् भने प्रहरीको भनाइमा यो कदम समाजमा शान्ति र सुरक्षाका लागि जरुरी छ।


