काठमाडौं । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा सरकार सुपथ मूल्य पसल सञ्चालनको तयारीमा जुटेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले घटस्थापनाको १५ दिनअघिबाट सुपथ मूल्य पसल सुरु गर्ने तयारी गरेको हो। यसअनुसार भदौ अन्तिम सातादेखि सुपथ मूल्य पसल सञ्चालन गरिनेछ।
यस वर्षको दशैंको टीका असोज १६ गते र घटस्थापना असोज ६ गते परेको छ। सोहीअनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनले सहुलियत मूल्यमा नुन, तेल, चामल, दाल, चिनी, चियापत्ती, पिठो, घ्यु, खसीबोका र च्याङ्ग्रा उपलब्ध गराउनेछन्।
हाल कुन सामग्रीमा कति छुट दिने भन्ने निर्णय भइसकेको छैन भने पसल कहाँ-कहाँ खोलिने भन्ने टुंगो पनि बाँकी छ। मन्त्रालयको उपभोक्ता संरक्षण महाशाखाका अनुसार छुट दरका लागि प्रस्ताव मगाइसकेको र छिट्टै निर्णय गरिनेछ।
यसपटक अनलाइन अर्डरको व्यवस्था राख्ने र उपभोक्ताको घरसम्म सामान पुर्याइदिने प्रणाली पनि लागू गरिने मन्त्रालयको तयारी छ। यसले सहरी क्षेत्रमा रहने उपभोक्तालाई थप सहजता दिने विश्वास लिइएको छ।
- सरकारले दशैं, तिहार र छठ पर्वका लागि भदौ अन्तिम सातादेखि सुपथ मूल्य पसल सन्चालन गर्ने तयारी थालेको छ।
- सुपथ मूल्य पसलमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कम्पनीले खाद्य सामग्रीमा छुट दिनेछन्।
- यस वर्ष पनि सुपथ मूल्य पसलबाट अनलाइन अर्डर गरी घरसम्म सामग्री पुर्याउने व्यवस्था मिलाउने तयारी मन्त्रालयको छ।


