लालबन्दी । महोत्तरीको बर्दिबास नगरपालिका–१० स्थित वनपथ चोकमा शनिबार दिउँसो भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। प्र–२–०३–००१ ख ६४६१ नम्बरको ट्रकले म.प्र ०२–००८ प ६८३४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक सर्लाही, लालबन्दी नगरपालिका–९ का ३८ वर्षीय नरकुमार आचार्य गम्भीर घाइते भएका थिए।
घाइते आचार्यको शुभ स्वस्तिक अस्पताल, बर्दिबासमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। दुर्घटनामा स्कुटरमा सवार अर्का एक जना व्यक्ति समेत घाइते भएका छन् र उनको सोही अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार ट्रक चालकलाई नियन्त्रणमा लिइएको छ र दुर्घटनाको कारण र विस्तृत विवरणबारे अनुसन्धान भइरहेको छ।


