काठमाडौं, २१ जेठ । हाल देशभर मौसम बदली भइरहेको छ । देशका विभिन्न भागमा पश्चिमी वायु, स्थानीय वायु तथा कोशी प्रदेशका अधिकांश क्षेत्रमा मनसुनी वायुको प्रभाव सक्रिय रहेकाले मौसममा व्यापक परिवर्तन देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस प्रणालीको प्रभावस्वरूप आज कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी क्षेत्रहरूमा मुख्यतया सफा देखिएको छ । यस्तै, कोशी प्रदेशका केही स्थानहरूमा, मधेस र बागमती प्रदेशलगायतका थोरै पहाडी भूभागमा र देशका अन्य केही भागमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
उच्च पहाडी र हिमाली भूभागका केही स्थानहरूमा हल्का वर्षासहित हिमपातको पनि सम्भावना रहेको छ । रातिको समयतिर कोशी प्रदेशका थोरै स्थानमा र मधेस, बागमती, गण्डकी तथा कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित वर्षा हुन सक्ने अनुमान गरिएको छ । मौसमविद्हरूले सम्भावित चट्याङ र हिमपातलाई ध्यानमा राख्दै सतर्क रहन आग्रह गरेका छन् ।