पनौती नगरपालिकामा तीन क्रसर उद्योग बन्द

पनौती नगरपालिकामा तीन क्रसर उद्योग बन्द

२३ फागुन, काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको पनौती नगरपालिकामा मापदण्डविपरीत सञ्चालनमा रहेका तीन खानी तथा क्रसर उद्योग बन्द गराइएको छ। नगरको वडा नं २ र १२ मा नवीकरण नगरी सञ्चालन भइरहेका डाइमण्ड स्टोन माइनिङ प्रालि, भालेश्वर रोडा ढुङ्गा उद्योग प्रालि, र दीपलक्ष्मी एग्रिगेट एण्ड माइनिङ प्रालि लाई अर्को आदेश नभएसम्मका लागि रोक लगाइएको छ।

नगरप्रमुख रामशरण भण्डारी का अनुसार खानी तथा भूगर्भ विभागबाट जारी उत्खनन अवधि सकिएको थियो। पटकपटक ताकेता गर्दा पनि बिनाअनुमति सञ्चालन भएकाले तत्काल रोक लगाउने निर्णय गरिएको हो। नगरउपप्रमुख गीता बन्जारा, सम्बन्धित वडाध्यक्ष तथा इलाका प्रहरी कार्यालय बनेपाका सुरक्षाकर्मीको टोलीले अनुगमन गरी उद्योगहरू बन्द गराएको हो।

यसअघि, गत माघ ९ गते जिल्लास्तरीय अनुगमन समितिको बैठक ले गैरकानुनी रूपमा सञ्चालित ढुङ्गा तथा क्रसर उद्योगहरूकै कारण बाढीपहिरो, भू-स्खलन, र पर्यावरणीय क्षति बढेको भन्दै तत्काल कारबाही गर्ने निर्णय गरेको थियो। पनौती नगरपालिकामा १४ वटा क्रसर तथा खानीमध्ये आठ खानी र पाँच क्रसर उद्योग खुलेका थिए, जसमा तीनवटा उद्योग अहिले बन्द गरिएको हो।

स्थानीय तहमा अन्य अवैध क्रसर उद्योग यथावत्
अनुगमन समितिको निर्देशनअनुसार जिल्लाका सबै स्थानीय तहमा अवैध क्रसर उद्योगहरू बन्द गर्न पत्राचार गरिए पनि अन्य ठाउँमा कार्यान्वयन नभएको देखिएको छ। विशेष गरी पनौती, रोशी, बेथानचोक, र नमोबुद्ध क्षेत्रमा बढी क्रसर तथा खानी सञ्चालनमा छन्। बाढीपहिरोले खोलाको धार परिवर्तन, बस्ती जोखिममा पार्ने, भूभाग कटान गर्ने, धुलो र गेग्रानले खोलाको सतह बढाउने जस्ता समस्याहरू देखिएको छ।

यसै कारण, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण समक्ष विस्तृत अध्ययनका लागि अनुरोध गरिएको छ। विपद्पछि क्रसर उद्योगहरूको पुनः संचालनले स्थानीय पर्यावरणमा दीर्घकालीन असर पार्न सक्ने भएकाले थप कदम चाल्नुपर्ने माग उठ्न थालेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *