काठमाडौँ, फागुन ९ : हरिवन नगरपालिका–८ का ९१ वर्षीय नरबहादुर खड्काले मोतियाविन्दु शल्यक्रियापछि आँखाको ज्योति पुनः प्राप्त गरेपछि खुशी व्यक्त गरेका छन्।
नेपाल नेत्र ज्योति संघद्वारा निःशुल्क सञ्चालित शिविरमा उनको सफल शल्यक्रिया भएपछि फेरि संसार देख्न पाउनु आश्चर्यलाग्दो अनुभव भएको उनले बताए। लामो समयदेखि दृष्टिविहीन बनेका खड्काले अन्धकारबाट उज्यालोमा फर्किन पाउँदाको खुशी शब्दमा वर्णन गर्न नसकिने बताए।
यस्तै, हरिवन नगरपालिका–३ निवासी ९१ वर्षीय रामविलास महतोले पनि सफल शल्यक्रियापछि बिहीबार पट्टी खोलेर पहिलो पटक संसार देख्दा गहँभरि आँसु पार्दै आफ्नो हर्ष व्यक्त गरे। आर्थिक अभावका कारण उपचार गर्न नसकेको बताउने महतोले यस्तो सेवा पाएर जीवनको नयाँ आशा जागेको बताए। शिविरमा ९० वर्षीय गणेशमान घिसिङको समेत सफल शल्यक्रिया गरिएको थियो।
नेत्र ज्योति संघका अनुसार शिविरमा १७५ जनाको मोतियाविन्दुको शल्यक्रिया गरी आँखाको ज्योति फर्काइएको छ। हरिवन र बरहथवा नगरपालिकामा पाँच स्थानमा परीक्षण शिविर सञ्चालन गरिएको थियो, जसमा १,०३७ जनाले आँखा परीक्षण गराएका थिए। परीक्षणका क्रममा २७० जना मोतियाविन्दुका बिरामी पहिचान भएका थिए