फागुन ७ सर्लाही : सर्लाही जिल्लाका २० स्थानीय तहमध्ये कार्यसम्पादन मूल्यांकनमा ईश्वरपुर नगरपालिका पहिलो स्थानमा आएको छ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि वित्तीय समानीकरण अनुदान सिफारिस गर्न सार्वजनिक गरेको मूल्यांकनमा ईश्वरपुरले १०० मध्ये ५६.३ अंक प्राप्त गरेको हो। पर्सा गाउँपालिकाले ५५.८ अंकसहित दोस्रो स्थान हासिल गरेको छ भने लालबन्दी नगरपालिकाले ५५.१ अंक प्राप्त गर्दै तेस्रो स्थान सुरक्षित गरेको छ।
त्यसैगरी, रामनगर गाउँपालिका ५२.६ अंकका साथ चौथो स्थानमा रहेको छ, भने बलरा नगरपालिका ३४.५ अंकसहित कार्यसम्पादनमा सबैभन्दा कमजोर देखिएको छ। आयोगले १७ वटा सूचकका आधारमा मूल्यांकन गरेको थियो, जसमा बजेट पेश तथा पारित गर्ने समयसीमा, खर्च अवस्था, बेरुजु व्यवस्थापन, लेखा परीक्षण प्रतिवेदन, स्थानीय सञ्चित कोषको उपयोग, आवधिक योजना कार्यान्वयन र राजस्व विभाजनजस्ता महत्वपूर्ण मापदण्डहरू समावेश छन्।