२८ माघ, काठमाण्डौ : हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी प्रदेश, लुम्बिनी प्रदेशसहित पहाडी भू-भागमा आंशिक बदली रहे पनि अन्य क्षेत्रको मौसम मुख्यतः सफा रहेको छ।
दिउँसो पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ। राति पनि यस्तै अवस्था रहने अनुमान गरिएको छ।
कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुन सक्ने सम्भावना रहेको छ भने तराईका विभिन्न स्थानमा हुस्सु र कुहिरो लाग्न सक्छ। मौसम पूर्वानुमान महाशाखाले यसले दैनिक जनजीवन, स्वास्थ्य, तथा सडक र हवाई यातायातमा प्रभाव पार्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।