गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आरएनपी एआर प्रणाली जडान हुने

काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिबिलिटीको समस्या समाधानका लागि आगामी माघ १० बाट आरएनपी-एआर (Required Navigation Performance – Authorization Required) प्रणाली सञ्चालनमा आउने भएको छ। भारतले इन्स्ट्रुमेन्टल ल्यान्डिङ सिस्टम (ILS) जडानको अनुमति नदिएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले यो भू-उपग्रहमा आधारित प्रविधि अपनाउने निर्णय गरेको हो।

आरएनपी-एआर प्रणाली विश्वका थुप्रै विमानस्थलमा प्रयोगमा आइसकेको प्रविधि हो। यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि यो प्रणाली प्रयोग हुँदै आएको छ, जसले न्यूनतम १,१०० मिटर भिजिबिलिटीमा उडान सम्भव बनाउँछ। तर गौतमबुद्ध विमानस्थलमा यो प्रणाली ८ सय मिटर भिजिबिलिटीमै प्रभावकारी हुने बताइएको छ।

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ई. प्रदीप अधिकारीका अनुसार यो प्रविधि जडानपछि धुंध, कुहिरो वा अन्य मौसमीय कारणले उडान र अवतरणमा आउने अवरोध उल्लेख्य रूपमा कम हुनेछ। यसले अन्तर्राष्ट्रिय उडानको नियमितता र यात्रु सेवामा सुधार ल्याउने अपेक्षा गरिएको छ

यसैबीच, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन समय पनि परिमार्जन गरिएको छ। अबदेखि विमानस्थल राति १ घण्टा ढिलो बन्द हुने र बिहान १ घण्टा छिट्टै खुल्नेछ। हाल दैनिक १० घण्टा बन्द हुने समय माघ १९ बाट घटाएर राति ११ बजेदेखि बिहान ७ बजेसम्म ८ घण्टा मात्र गरिने भएको छ।

यद्यपि, काठमाडौंबाट भैरहवा सारिएका अन्तर्राष्ट्रिय उडान भने यथावत् रहनेछन्। प्राधिकरणले यो परिवर्तनले नेपालका दुबै प्रमुख अन्तर्राष्ट्रिय विमानस्थलमा उडान क्षमता र दक्षता बढाउने विश्वास लिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *