कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीमा पुस्तकालय स्थापना ले पठन संस्कृति विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएको छ।
पुस्तकालय दिवसको अवसरमा सुर्खेतस्थित नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटीको कार्यालयमा आयोजित कार्यक्रमका क्रममा उहाँले पुस्तकालयले मानव मस्तिष्कलाई ज्ञान–विज्ञानको धरोहर बनाउँदै, सही कार्यका लागि प्रेरित गर्ने उल्लेख गर्नुभयो।
मुख्यमन्त्री कँडेलका अनुसार पुस्तकालय मानव जीवनको बौद्धिक र मानसिक विकासको प्रतीक हो, जसले हराउँदै गएको पढ्ने बानीलाई पुनः जागृत गराउँछ।
मुख्यमन्त्री कँडेलले कर्णालीमा पुस्तकालय स्थापनालाई निरन्तरता दिन विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो। उहाँले पुस्तकालयको स्थापना मात्र नभई, अध्ययन र अनुसन्धानलाई निरन्तरता दिँदै एमालेलाई अरू दलभन्दा फरक र योग्य बनाउने उद्देश्यका लागि पुस्तक अध्ययनको महत्त्व पनि औंल्याउनुभयो।
पछिल्लो समयमा पठन संस्कृति घट्दै गएको भन्दै नेकपा (एमाले) सुर्खेतका अध्यक्ष कुलमणि देवकोटाले कर्णालीमा पुस्तकालय स्थापनालाई नेता तथा कार्यकर्ताहरूमा अध्ययन, अनुसन्धान, र नयाँ चिन्तनको विकासका लागि स्थापित गरिएको धारणा राख्नुभयो।
कार्यक्रममा नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा पूर्वस्वास्थ्य मन्त्री नवराज रावत, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल, र नेता गेहेन्द्रप्रसाद दहाललगायतको उपस्थिति रहेको थियो।
Source link