काठमाडौँः सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारको मुख्य प्राथमिकता समाजमा व्याप्त अन्धविश्वास र कुप्रथा अनि रूढीवादी परम्पराको अन्त्य रहेको बताएका छन्।
आज आयोजित कार्यक्रममा मन्त्री गुरुङले वर्तमान सरकारको उद्देश्य आधुनिक समाज निर्माण गर्दै सबै प्रकारका अन्धविश्वास र कुप्रथा साथै विभेद र कुसंस्कारको अन्त्य गर्न प्रभावकारी ऐनकानुनको कार्यान्वयन गर्नेमा रहेको बताए।
उनले बोक्सी प्रथालाई पूर्ण रूपमा समाप्त गर्ने प्रतिबद्धता व्यक्त गर्दै, सति प्रथाको अवशेष र अन्य कुरीतिहरूलाई पनि हटाउनुपर्ने आवश्यकता औँल्याए। साथै, हलिया, छाउपडी, हरवाचरवा, र कम्लरी प्रथाहरूको अन्त्यका लागि समाजका सबै वर्गको भूमिका महत्वपूर्ण हुने बताए।
कार्यक्रममा बोक्सी प्रथामा आधारित चलचित्र ‘अग्निदहन’को पोष्टर पनि सार्वजनिक गरिएको थियो।