काठमाडौँः प्रतिनिधिसभामा ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८०’ माथि विचार गरियोस् भन्ने प्रस्ताव गणपुरक संख्या नपुगेपछि कार्यसूचीबाट हटाइएको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सांसदहरूको जिज्ञाशाको जवाफ दिँदै संविधानको भावना अनुसार विधेयक अगाडि बढाइएको बताउनुभयो। गणपुरक संख्या नपुग्दा ६९ सांसद हुनु पर्नेमा ६७ मात्रै उपस्थित भएका कारण प्रस्ताव कार्यसूचीबाट हटाइएको सभामुख देवराज घिमिरेले जानकारी दिनुभयो।
यस्तै, बैठकले सीमलतालमा भएको दुई वटा बस दुर्घटना र सौर्य एयरलाइन्सको विमान दुर्घटनामा मृत्युभएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ। शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दै बैठकले यस्ता दुर्घटना कम गर्न विशेष पहल गर्न सरकारको ध्यानाकर्षण गराएको छ।
प्रतिनिधिसभाको अर्को बैठक साउन १४ गते दिउँसो १ बजे बस्नेछ।