काठमाण्डौः विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले शनिबार दक्षिण–पूर्वी एसियाली मुलुकलाई बढ्दो हेपाटाइटिस बी र सी सङ्क्रमणको रोकथाम र उपचारका लागि विश्वव्यापी पहुँच आवश्यक रहेको बताएको छ। हेपाटाइटिसको रोकथाम र उपचार सम्भव भए पनि यसको दीर्घकालीन सङ्क्रमणले दक्षिण पूर्वी एसियाली क्षेत्रमा कलेजोको क्यान्सर र कलेजो फेलजस्ता गम्भीर रोगले मृत्यु निम्त्याइरहेको डब्ल्यूएचओको विज्ञप्तीमा उल्लेख छ।
विज्ञप्तीका अनुसार पछिल्लो समय यस क्षेत्रमा कलेजोको क्यान्सर मृत्यु निम्त्याउने चौथो ठुलो कारण बनेको छ। हेपाटाइटिस बी र सी सङ्क्रमणले यस क्षेत्रको लगभग ७५ प्रतिशत मानिसहरुको कलेजो फेल हुने गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ। सन् २०२२ मा यस क्षेत्रका ७०.५ मिलियन मानिसले भाइरल हेपाटाइटिस वि र सी सङक्रमण सामना गरिरहेका थिए। विश्वव्यापी रूपमा यसले प्रति दिन ३५०० को मृत्यु हुने र प्रत्येक दिन ६००० नयाँ संक्रमित भेटिने गरेका छन्।
कोभिड–१९ पछि सन् २०२२ मा सङ्क्रामक रोगहरूमा भाइरल हेपाटाइटिस र क्षयरोग मृत्युको दोस्रो प्रमुख कारण बनेको छ। यद्यपी प्रारम्भिक उपचारबाट सङ्क्रमण नियन्त्रण गर्न सकिने डब्लुएचओले जनाएको छ। डब्लुएचओका अनुसार दक्षिण–पूर्वी एसियामा यसको परीक्षण र उपचारको पहुँच कम छ। हेपाटाइटिस सङ्क्रमणबाट विशेषतः नवजात शिशु र बालबालिकाहरु उच्च जोखिममा छन्।
“भाइरल हेपाटाइटिस यस दशकको प्रमुख जनस्वास्थ्य चुनौती हो। तर जनस्वास्थ्यको दृष्टिकोण र स्वास्थ्य क्षेत्रमा विश्वव्यापी लगानीको बृद्धिले सन् २०३० सम्ममा भाइरल हेपाटाइटिसको उन्मूलन सम्भव छ”, डब्लुएचओका क्षेत्रीय निर्देशक साइमा बाजेदले बताउनुभयो। “आज जीवन बचाउनु र भावी पुस्ताको स्वास्थ्यको रक्षा गर्नु हाम्रो सामुहिक जिम्मेवारी हो”, उहाँले भन्नुभयो।