गण्डकी, लुम्बिनी, र बागमती प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय आर्थिक वृद्धिदरको तुलनामा धेरै हुने भएको छ।
राष्ट्रिय तथ्यांक कार्यालयले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८०/८१ मा गण्डकी प्रदेशको अर्थतन्त्र सबैभन्दा धेरै ४.५५ प्रतिशतले विस्तार हुने अनुमान छ, जुन राष्ट्रिय औसत भन्दा माथि हो। राष्ट्रिय स्तरमा यो वर्ष अर्थतन्त्र ३.८७ प्रतिशतले विस्तार हुने अनुमान गरिएको छ।
गण्डकीसँगै लुम्बिनी र बागमती प्रदेशको आर्थिक वृद्धिदर पनि राष्ट्रिय औसतभन्दा माथि रहनेछ। लुम्बिनीको आर्थिक वृद्धिदर ४.०५ प्रतिशत र बागमतीको ३.९६ प्रतिशत हुने अनुमान छ। गत आर्थिक वर्षमा पनि गण्डकीको आर्थिक वृद्धिदर अन्य प्रदेशहरूको तुलनामा माथि थियो।
७ वटा प्रदेशमध्ये अन्य चार प्रदेशको आर्थिक वृद्धिदर भने राष्ट्रिय औसतभन्दा कम हुने अनुमान गरिएको छ। तथ्यांक अनुसार, कोशीको ३.५१ प्रतिशत, मधेशको ३.७८ प्रतिशत, सुदूरपश्चिमको ३.४१ प्रतिशत, र कर्णाली प्रदेशको ३.३९ प्रतिशत आर्थिक वृद्धिदर हुने अनुमान छ।


