काठमाडौं । काठमाडौंमा अमेरिकी दूतावासको आयोजनामा बुधबार नेपाली एड्भेन्चर रियालिटी शो ‘द च्यालेन्जर्स’ : गेम अफ द हिमालयज’को विशेष प्रदर्शन सम्पन्न भएको छ। दरबारमार्गस्थित अक्टेभ रेस्टुरेन्ट एण्ड लाउन्जमा आयोजित कार्यक्रममा अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख माइक हार्करसहित विभिन्न अधिकारी, संचारकर्मी, फिल्ममेकर, विद्यार्थी र विभिन्न पेशा व्यवसायका दर्शकको उपस्थिति रहेको थियो।
यो शो गतवर्ष न्यूयोर्कको टाइम्स स्क्वायरस्थित एएमसी थिएटरमा प्रिमियर भइसकेको हो। त्यसपछि नेपालमा पनि प्रिमियर गरिएको यस कार्यक्रमलाई अमेजन प्राइम र युट्युबमार्फत विश्वभर प्रसारण गरिएको छ। निर्देशक श्री गुरुङले निर्माण गरेको यो रियालिटी शोले नेपाल पर्यटनलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ। गुरुङ ‘युएस एक्सचेन्ज’का पूर्व विद्यार्थी समेत हुन्, जसले यस प्रोजेक्टलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाएका छन्।
कार्यक्रममा बोल्दै अमेरिकी दूतावासका हार्करले यस शोले नेपाल र हिमालयलाई विश्वभर चिनाउने काम गरेको बताए। उनका अनुसार, यो रियालिटी शोले जलवायु संकट, हिमाल आरोहण, साहसिक पर्यटन र नेपाली युवाको क्षमता प्रष्ट देखाएको छ। उनले निर्देशक गुरुङको साहसिक प्रयासले अन्य युवालाई रचनात्मक उद्योगमा प्रवेश गर्न प्रेरित गर्ने विश्वास व्यक्त गरे।
शोमा नेपालसहित ६ देशका ११ जना भ्लगरले लुक्लादेखि सगरमाथा आधारशिविरसम्म १२ दिन लामो पदयात्रा र विभिन्न साहसिक गतिविधि गरेका छन्। शोको लागत करिब १० करोड रुपैयाँ रहेको छ भने यसको छायांकन वल्र्ड भ्लग च्यालेन्ज प्रालिको ब्यानरमा २०७८ कात्तिकमा गरिएको हो। चर्चित आरोही कामीरिता शेर्पाले प्रमुख प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए भने मिङ्मा डेभिड शेर्पाले एक्सपिडिसन लिडरको जिम्मेवारी लिएका थिए।
यस साहसिक शोमा नेपालका विश्वास राई र निशा खालिङसहित भारत, अमेरिका, थाइल्यान्ड, फिलिपिन्स र कोलम्बियाका चर्चित भ्लगरहरूले प्रतिस्पर्धा गरेका थिए। कार्यक्रममार्फत अमेरिकी दूतावासले नेपालमा कन्टेन्ट क्रिएटरहरूलाई प्रोत्साहन दिने कार्यलाई निरन्तरता दिएको छ। यस शोले नेपाललाई विश्वकै अग्रणी साहसिक गन्तव्यका रूपमा चिनाउन महत्त्वपूर्ण भूमिका खेलेको आयोजकहरूले बताएका छन्।


