चन्द्रनगर । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा दुई पुरुषले दुई महिलामाथि निर्घात कुटपिट गरी गम्भीर घाइते बनाएका छन् ।
चन्द्रनगर गाउँपालिका वडा नं. २, बिर्ताबजारका देवेन्द्र राय यादव र उनका छोरा प्रविण राय यादवले स्थानीय ५० वर्षीया पानोदेवी महतो र उनकी २६ वर्षीया छोरी उर्मिला देवीलाई शनिबार निर्घात कुटपिट गरेका हुन् ।
पीडित पानोदेवीका श्रीमान् नथुनी महतोका अनुसार खेतमा भिन्डी टिपेको विषयमा विवाद सुरु भएको थियो । सुरुमा देवेन्द्र यादवकी श्रीमतीसँग पानोदेवी र उर्मिलाको झगडा भएको र त्यसैको निहुँमा पछि देवेन्द्र र उनका छोरा प्रविण घरमै पुगेर कुटपिट गरेको महतोले बताए । ‘बुबा-छोराले मिलेर श्रीमती र छोरीलाई कुटपिट गर्नुका साथै बलात्कार गर्ने जस्ता धम्की समेत दिए,’ महतोले भने ।
कुटपिटबाट गम्भीर घाइते भएकी पानो र उर्मिलाको ईश्वरपुर नगरपालिकास्थित बयलवासको सिद्धिविनायक अस्पतालमा उपचार भइरहेको छ । अस्पतालका चिकित्सकका अनुसार दुवै महिलाको शरीरका विभिन्न भागमा निलडाम छन् भने पानोको हातमा गहिरो चोट लागेको छ ।
घटनापछि आरोपी बाबु-छोरा दुवै फरार रहेका छन् । पीडित परिवारले इलाका प्रहरी कार्यालय, केशरगञ्जमा घटनाबारे निवेदन दिएको छ ।
इलाका प्रहरी कार्यालय, केशरगञ्जका प्रहरी निरीक्षक उमाकान्त जोशीले घाइतेहरूको उपचार भइरहेको र कुटपिटमा संलग्नहरूको खोजी कार्य जारी रहेको बताएका छन् । ‘घटना हेर्दा घरायसी विवादजस्तो देखिएको छ । पुरुषहरूले महिलामाथि हातपात गरेका छन्, उनीहरूलाई खोजी गरी आवश्यक प्रक्रिया अगाडि बढाएर कारबाही हुन्छ,’ प्रहरी निरीक्षक जोशीले भने ।


