काठमाडौं । यूएस-बंगला विमान दुर्घटनामा घाइते व्यक्ति र मृतकका परिवारलाई करोडौँ रकमको क्षतिपूर्ति भराउने फैसला सुनाइएको छ । काठमाडौं जिल्ला अदालतले आइतबार लापरबाहीकै कारण यूएस बंगला विमान दुर्घटना भएको ठहर गर्दै क्षतिपूर्ति भराउने फैसला सुनाएको हो ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश डा. दिवाकर भट्टको इजलासले यूएस बंगला विमान दुर्घटनामा ज्यान गुमाउने १६ जनाका परिवार र घाइते समिरा व्यञ्जनकारलाई क्षतिपूर्ति भराउने फैसला सुनाएको हो । २०७६ साल साउन १५ गते दायर भएको ७ थान र २०७६ साल फागुन २८ गते दायर भएको १० थान मुद्दामा अदालतले आइतबार फैसला सुनाएको हो ।
काठमाडौं जिल्ला अदालतले सुनाएको फैसलामा दुर्घटना पाइलट र को पाइलटकै लापरबाहीका कारण भएको ठहर गर्दै अधिकतम ३ करोड ६७ लाख ४३ हजार ७६३ रुपैयाँसम्म क्षतिपूर्ति भराउने फैसला सुनाएको हो ।
जिल्ला अदालतले सुनाएको फैसलामा मृतक १६ जनाको परिवारलाई प्रतिव्यक्ति न्यूनतम ६२ लाख ४४ हजार रुपैयाँदेखि अधिकतम ३ करोड ६७ लाख ४३ हजार रुपैयाँसम्म क्षतिपूर्ति भराउन भनिएको छ ।
बंगलादेशको ढाकाबाट काठमाडौंका लागि उडेको यूएस बंगला एयरको विमान २०७४ फागुन २८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा जहाजमा सवारमध्ये ५१ जनाको मृत्यु भएको थियो ।
दुर्घटनापछि भएको विभिन्न छानबिनले विमानका पाइलट अविद सुल्तानको लापरबाही र कमजोरीका कारण विमान दुर्घटना भएको तथ्य सार्वजनिक भएको थियो । दुर्घटनाको कारकमा पाइलट सुल्तान मानसिक तनावमा रहेको, को पाइलटलाई इम्प्रेस गर्न खोज्दा दुर्घटना भएको, ककपिटभित्रै चुरोट पिएको लगायतका विषय पाइएको थियो ।
दुर्घटनाको ५ महिनापछि दुर्घटनामा मृत्यु भएकाको परिवार र घाइतेको तर्फबाट क्षतिपूर्तिको माग दाबी लिई काठमाडौं जिल्ला अदालतमा फिराद दर्ता भएको थियो । मुद्दा दर्ता भएको करिब ६ वर्षपछि काठमाडौं जिल्ला अदालतले साउन ४ गते आइतबार फैसला सुनाउँदै मृतकका परिवार र घाइतेलाई जीवनभर कमाउन सक्ने रकम बराबर क्षतिपूर्ति भराउने गरी फैसला सुनाएको हो ।
जिल्ला अदालतले फैसला सुनाउँदा वारसा कन्भेन्सन अनुसार विमानका चालक वा कम्पनीका कारण दुर्घटना हुँदा असीमित दायित्व निर्वाह गर्नुपर्ने हुन्छ । पछि वारसा सम्झौतालाई मोन्ट्रियल सम्झौताबाट केही हदसम्म क्षतिपूर्तिको रकम परिवर्तन गरेको थियो भने क्षतिपूर्तिलाई थप उत्तरदायी बनाउने चेष्टा गरेको थियो ।
पहिले माग दाबी के थियो त्यो बुझौँ ।
काठमाडौं जिल्ला अदालतमा २०७५ साउन १५ गते दायर भएको फिरादमा विमान दुर्घटना चालक वा विमान कम्पनीको लापरबाहीका कारण भएकाले असीमित दायित्व अन्तर्गत मृतक र घाइतेको परिवारलाई क्षतिपूर्ति दिनुपर्ने र क्षतिपूर्ति भराउँदा ओग्डन टेबल्सका आधारमा क्षतिपूर्ति भराउनुपर्ने माग रहेको थियो ।
सुरुमा फिराद दर्ता गर्दा मृतक तथा घाइतेका परिवारका सदस्यहरू लक्ष्मी अवाले, श्याम कुमार महर्जन, दिना महर्जन, यशोदा श्रेष्ठ, रुपा प्रभा शाक्य, लक्ष्मण झा मैथिल बाहुन र मनोज धामीले फिराद दर्ता गराएका थिए । उनीहरूले फिराद दर्ता गराउँदा लिएका आधारहरूमा दुर्घटना पाइलटको लापरबाहीका कारणले भएको कारण क्षतिपूर्ति दायित्व सीमित नभई असीमित हुने र असीमित क्षतिपूर्ति भराउँदा वारसा सम्झौता र मोन्ट्रियल सम्झौता अनुसार ओग्डन टेबल्सका आधारमा गणना गरी भविष्यमा कमाउने रकम, किरिया, आश्रित परिवार सबैको खर्च जोडेर क्षतिपूर्ति तिर्नुपर्ने माग गरेका थिए ।
उनीहरूले लिएको मागका केही विषय यस्ता थिए ।
‘… उक्त दुर्घटनामा क्याप्टेन र को पाइलटको चरम लापरबाही भएको थियो । कुनै पनि क्याप्टेन र को पाइलटको पहिलो कर्तव्य भनेको वायुयान अवतरण गर्नु पूर्व वायुयान रनवेको ठिक सेन्टरमा छ कि छैन भन्ने हेर्नुपर्छ । यदि छैन भने वायुयानलाई ‘गो अराउण्ड’ गराई पुनः अवतरण गर्नुपर्ने हुन्छ । अर्को कुरा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल संसारको टफ एयरपोर्टको वर्गीकरणभित्र पर्ने गर्दछ । तसर्थ नेपाल नागरिक उड्डयन प्राधिकरणको नियम अनुसार ल्यान्डिङ गर्ने क्रममा लङ फाइनल एप्रोच एवं सर्ट फाइनल एप्रोच गर्दा पनि भिएफआर अन्तर्गत मात्र गर्न पाइन्छ । यसरी रनवे सेन्टरमा छैन भन्ने देख्दा देख्दै जबरजस्ती ल्यान्ड गर्न खोज्नु र वायुयान अनियन्त्रित भई दुर्घटना हुनु चालकहरूको चरम लापरबाहीको कारणले हो । सो तथ्यलाई नेपाल सरकारले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको धारा २६ एनेक्स १३ अनुसार गैर सैनिक हवाई उडान (दुर्घटना जाँच) नियमावली, २०७१ बमोजिम गठित आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रतिवेदनमा प्रस्ट रूपमा उल्लेख गरेको छ जसको प्रमाणित प्रतिलिपि यसै साथ संलग्न गरेका छौँ ।’
‘… सो को अतिरिक्त क्याप्टेन अविद सुल्तान मानसिक तनाव र भावनात्मक रूपमा अशान्त रहनुका कारण वायुयान अवतरण गर्नुपर्दा अपनाउनुपर्ने आइकाओको अन्तर्राष्ट्रिय मापदण्डको कुनै ख्याल नगरी दुर्घटना भई यात्रुलाई क्षति हुन सक्ने सम्भावित दुष्परिणामतर्फ कुनै ध्यान नै नदिई अनावश्यक, गैर व्यावसायिक र लामो कुराकानीमै व्यस्त रही ककपिटमा रहँदा गरिनुपर्ने सबै मापदण्डलाई उल्लंघन गरी चुरोट समेत पिइरहेको उक्त प्रतिवेदनमा प्रस्टसँग उल्लेख गरिएको छ । यसै गरी जाँचबुझ आयोगको आफ्नो प्रतिवेदनको प्रकरण ३.२.१ मा. सम्भावित कारणहरूका बारेमा उल्लेख गरेको छ । जस अनुसार उक्त वायुयान दुर्घटना क्रू मेम्बरको कमजोरीकै कारण भएको भएको भन्ने उल्लेख भएको ।’
यी विषयहरूलाई लिई उक्त विमान दुर्घटना पाइलटकै गल्तीका कारण भएको कारण यो असीमित दायित्वमा पर्ने भएकाले ओग्डन टेबल्सका आधारमा क्षतिपूर्ति माग दाबी लिइएको थियो ।
यस सम्बन्धमा भएका विभिन्न आदेश र सुनुवाइपछि अन्ततः जिल्ला अदालतले माग दाबी अनुसार नै उक्त दुर्घटनालाई लापरबाहीका कारण भएको ठहर गरी वारसा सम्झौता अनुसार असीमित दायित्व र ओग्डन टेबल्स अनुसार नै पीडित वा उनका परिवारलाई क्षतिपूर्ति भराउने फैसला सुनाएको हो ।
सुरुमा ७ जनाका तर्फबाट मुद्दा दायर भएको भए पनि पछि १७ जनाको तर्फबाट मुद्दा दायर भएको थियो ।
उक्त फिराद दाबी अनुसार नै काठमाडौं जिल्ला अदालतले १७ जना व्यक्तिहरूलाई क्षतिपूर्ति भराउन विपक्षी यूएस बंगला विमान कम्पनीका नाममा आदेश दिएको छ ।
कसले कति पाउनेछन् क्षतिपूर्ति ?
काठमाडौं जिल्ला अदालतले क्षतिपूर्तिका लागि फिराद दर्ता गराएका १७ जनालाई नै ओग्डेन टेबल्सका आधारमा क्षतिपूर्ति भराइदिने फैसला सुनाएको छ । जसमा कसले कति पाउँछन् भनेर उल्लेख गरिएको छ ।
यस्तो छ क्षतिपूर्ति पाउने व्यक्तिको पेसा, व्यवसाय वा अध्ययनको अवस्था, उनीहरूले भविष्यमा कमाउने रकम र आश्रित परिवार समेतको आधारमा निर्धारण गरिएको क्षतिपूर्ति रकम ।
क्र.सं
मुद्दा नं.
वादी
मृतक / घाईते
पेशा / व्यवसाय / अध्ययन
जम्मा क्षतिपूर्ति रकम (ने.रु.)
१०७६-CP-०३४२श्यामकुमार महर्जनसमेतसंजय महर्जनMBBS अध्ययनरत२,३४,८७,२६३.५०
२०७६-CP-०३४३राजकुमार महर्जनसमेतमिली महर्जनMBBS अध्ययनरत२,३४,८७,२६३.५०
३०७६-CP-०३४४दिपक महर्जनसमेतनिगा महर्जनMBBS अध्ययनरत२,३४,८७,२६३.५०
४०७६-CP-०३४५यशोदा श्रेष्ठसमेतएन्जिला श्रेष्ठMBBS अध्ययनरत२,३४,८७,२६३.५०
५०७६-CP-०३४६राजभाई शाक्यसमेतआसना श्रेष्ठMBBS अध्ययनरत२,३४,८७,२६३.५०
६०७६-CP-०३४७लक्ष्मण झा मैथिलश्रेया झाMBBS अध्ययनरत२,३४,८७,२६३.५०
७०७६-CP-०३४८मनोज धामीसमेतप्रिन्सी धामीMBBS अध्ययनरत२,३४,८७,२६३.५०
८०७६-CP-४८३३थमनबहादुर पाण्डेसमेतप्रसान्न पाण्डेहिमालयन एअरलाइन्स सहायक अफिसर१,४७,४५,५५६.९०
९०७६-CP-४८३४उर्मिला प्रधानसमेतश्वेता थापाMBBS अध्ययनरत२,४७,३२,८५६.८०
१००७६-CP-४८३५प्रमोद बुढाथोकीसमेतज्ञानी कुमारीनर्स६२,४४,८६४.१६
११०७६-CP-४८३६दामोदर पौडेलसमेतसञ्जय पौडेलMBBS अध्ययनरत२,४७,३२,८५६.८०
१२०७६-CP-४८३७चित्रबहादुर लोहनीसमेतपुर्णिमा लोहनीMBBS अध्ययनरत२,४७,३२,८५६.८०
१३०७६-CP-४८३८समिरा व्यञ्जनकारसमिरा व्यञ्जनकार (घाईते)MBBS अध्ययनरत६१,०५,३७६.५०
१४०७६-CP-४८३९गम्भीरध्वज थापासमेतडा. बालकृष्ण थापावरिष्ठ न्यूरोसर्जन३,६७,४३,७६३.१०
१५०७६-CP-४८४०गंगाकुमारी बरालएन्जिला बरालMBBS अध्ययनरत२,४७,३२,८५६.८०
१६०७६-CP-४८४१कमला घिमिरेसमेतचारु बरालMBBS अध्ययनरत२,४७,३२,८५६.८०
१७०७६-CP-४८४२रजनी श्रेष्ठसमेतसरुना श्रेष्ठMBBS अध्ययनरत२,४७,३२,८५६.८०


