काठमाडौँ, चैत १२ : नेपाली रोजगार बजारमा दक्ष जनशक्तिको अभावलाई कम गर्नका लागि आइएमई ग्रुप र आईएक्सआई कर्पले काठमाडौं टेक्निकल स्कुल (केटीएस) सञ्चालनमा ल्याएका छन्। यस विद्यालयको औपचारिक उद्घाटन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले काठमाडौंको धुम्बाराहीस्थित प्राङगणमा विशेष समारोहबीच गरेका हुन्।
काठमाडौं टेक्निकल स्कुलले हस्पिटालिटी, कुलिनरी आर्ट्स, केयर गिभिङ, बारिस्ता, बार टेन्डिङ लगायतका तीन दर्जनभन्दा बढी रोजगारमूलक तथा स्वरोजगारमूलक तालिमहरु प्रदान गर्नेछ। यो संस्थाले आगामी एक दशकमा एक लाखभन्दा बढी कुशल जनशक्ति तथा प्रोफेशनल उत्पादन गर्ने लक्ष्य राखेको छ, जसले नेपाली युवालाई स्वदेशमै रोजगारीको अवसर दिलाउन सहयोग गर्नेछ।
आइएमई ग्रुप, जसले बैंक तथा वित्तीय क्षेत्र, बीमा, पर्यटन, जलविद्युत, म्यानुफ्याक्चरिङ लगायतका विभिन्न उद्योग तथा परियोजनाहरु सञ्चालन गरिसकेको छ, हाल २५,००० भन्दा बढी व्यक्तिलाई प्रत्यक्ष रोजगारी दिइरहेको छ। आईएक्सआई कर्पले पनि वैकल्पिक लगानी, ऊर्जा, शिक्षा र प्रविधिका क्षेत्रमा उल्लेखनीय काम गरिरहेको छ।
कार्यक्रममा मन्तव्य दिँदै मन्त्री भण्डारीले सीप विकास, रोजगारी, उद्यमशीलता र पुँजीको संयोजनमार्फत मात्र बेरोजगारी तथा गरिबी न्यूनीकरण गर्न सकिने बताउँदै सरकारले निजी क्षेत्रसँग सहकार्यलाई प्राथमिकता दिने उल्लेख गरे। उनले सरकार प्राविधिक जनशक्ति उत्पादनमा विशेष ध्यान दिइरहेको र यसका लागि निजी क्षेत्रलाई सधैं साथ दिन तयार रहेको प्रस्ट पारे।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्राविधिक शिक्षाको क्षेत्रमा नयाँ युगको शुरुवात गर्ने लक्ष्यका साथ स्थापित यस स्कुलले हजारौं युवालाई रोजगारी तथा स्वरोजगार बनाउन सहयोग गर्ने बताए। काठमाडौं टेक्निकल स्कुलका अध्यक्ष मनोज पौडेलले सरकारको एक लाख दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यलाई प्राप्त गर्न यो स्कुलले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए।
यस ऐतिहासिक उद्घाटन कार्यक्रममा नेपाल सरकार, निजी क्षेत्र, विदेशी कूटनीतिक नियोग तथा दातृ संस्थाका प्रतिनिधिहरु उपस्थित थिए। यसले नेपाली युवालाई प्रतिस्पर्धी रोजगार बजारका लागि तयार पार्दै नेपालको समग्र आर्थिक विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
