२३ फागुन, काठमाडौं – काठमाडौंको बसन्तपुरमा आज परम्परागत रूपमा रंगीचंगी ध्वजाले सजाइएको चीर ठड्याइएसँगै होली पर्व को शुभारम्भ भएको छ। हरेक वर्ष फागुन शुक्ल अष्टमीका दिन बसन्तपुरस्थित हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ चीर ठड्याएपछि फागु पर्व सुरु भएको मानिन्छ।
यस वर्ष पनि शुक्रबार बिहान मानन्धर समुदायले रङ्गीचङ्गी ध्वजासहितको चीर ठड्याएका छन्। सोही अवसरमा उनीहरूले एकअर्कालाई अबिर दलेर होली पर्वको सुरुआत भएको संकेत गरेका छन्। साथै, पशुपति क्षेत्र, हनुमानढोका दरबारको सुन्दरीचोक, ललितपुरको पाटन दरबार क्षेत्रमा पनि रंगीचंगी कपडा झुण्ड्याएर होली सुरु भएको जनाइएको छ।
यस वर्षको होली पर्व फागुन २९ गते र चैत १ गते मनाइने छ। फागुन २९ गते हिमाली तथा पहाडी जिल्लामा होली मनाइनेछ भने चैत १ गते तराई–मधेसका जिल्लामा होली खेलिनेछ। सोही दिनहरूमा सम्बन्धित क्षेत्रका स्थानीय सरकारले सार्वजनिक बिदा दिएको छ।
रंगहरूको उत्सवका रूपमा परिचित होली नेपालमा मात्र नभई भारतसहित विभिन्न मुलुकमा हर्षोल्लासका साथ मनाइन्छ। प्रेम, मित्रता, सद्भाव र रंगहरूको पर्वका रूपमा होलीले सामाजिक एकता र समन्वयको सन्देश दिन्छ।


