नेपाल-स्वीस सम्बन्धलाई थप मजबुत बनाउने समझदारी: मन्त्री देउवा र स्वीस विदेशमन्त्रीबीच भेटवार्ता

नेपाल-स्वीस सम्बन्धलाई थप मजबुत बनाउने समझदारी: मन्त्री देउवा र स्वीस विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ, फागुन १२ : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र स्वीट्जरल्यान्डका विदेशमन्त्री इग्नाजियो डेनिले जियोभानी क्यासिसबीच सोमबार जेनेभामा द्विपक्षीय भेटवार्ता सम्पन्न भएको छ।

संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषदको ५८औँ उच्चस्तरीय सत्रमा सहभागिताका क्रममा भएको यस भेटवार्तामा नेपाल-स्वीस सम्बन्धलाई अझ मजबुत बनाउने विषयमा छलफल भएको थियो। मन्त्री डा. देउवाले नेपालको आर्थिक, सामाजिक तथा शान्ति प्रक्रियामा स्वीट्जरल्यान्ड सरकारको सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै भविष्यमा थप सहकार्यका लागि आग्रह गर्नुभयो।

नेपालले संयुक्त राष्ट्रसंघको २०२७-२०२९ मानवअधिकार परिषद, २०२९-२०३१ आर्थिक तथा सामाजिक परिषद, र २०३७-२०३८ सुरक्षा परिषद को अस्थायी सदस्य पदका लागि उम्मेदवारी दिएको भन्दै, यस अभियानमा स्वीट्जरल्यान्डको समर्थन आवश्यक रहेको मन्त्री देउवाले बताउनुभयो। साथै, नेपालले आगामी मे महिनामा सगरमाथा संवाद कार्यक्रम आयोजना गर्ने योजना बनाएको उल्लेख गर्दै, यस जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय कार्यक्रममा स्वीट्जरल्यान्डलाई सहभागिताका लागि आमन्त्रण गर्नुभयो।

मन्त्री देउवाले नेपाल सन् २०२६ मा विकासोन्मुख राष्ट्रबाट स्तरोन्नति हुने चरणमा रहेको बताउँदै, दिगो विकास लक्ष्य (SDG) प्राप्त गर्न स्वीट्जरल्यान्डको निरन्तर सहयोग आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। जलवायु परिवर्तनले नेपालमा पारेको प्रभावबारे अन्तर्राष्ट्रिय मञ्चहरूमा आवाज उठाइरहेको उल्लेख गर्दै, जलवायु न्यायका लागि स्वीट्जरल्यान्डको सहयोगका लागि अपिल गर्नुभयो।

सो अवसरमा संयुक्त राष्ट्रसंघका लागि जेनेभास्थित नेपाली स्थायी प्रतिनिधि रामप्रसाद सुवेदीलगायत अन्य अधिकारीहरूको उपस्थिति रहेको थियो।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *