काठमाडौं । काठमाडौंको गौशालास्थित पिङ्गलास्थानमा केएमसी ग्रुपका संस्थापकहरूसँगको सहकार्यमा ‘बेस्ट वेस्टर्न प्लस’ नामक चारतारे होटल सञ्चालनमा आएको छ। माघ ९ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आएको यो होटल अमेरिकी ब्राण्ड बेस्ट वेस्टर्न होटल्स एण्ड रिसोर्टससँगको सहकार्यमा स्थापना गरिएको हो।
७ रोपनी क्षेत्रफलमा फैलिएको यस होटलमा कुल ८४ आरामदायी कोठा रहेका छन्। तिनमा ४ स्वीट रुम, ७ प्रिमियम रुम, १२ सुपर डिलक्स रुम, र ६१ डिलक्स रुम समावेश छन्। साथै, अतिथिहरूका लागि उत्कृष्ट सेवा दिन तयार गरिएको होटलमा दुई प्रमुख रेस्टुरेन्ट र मनोरम दृष्यसहितको ला–भिस्टा रुफटप रेस्टुरेन्ट रहेको छ, जसमा एकैपटक १४० जनालाई सेवा दिन सकिने क्षमता छ।
त्यसैगरी, होटलमा १२५० भन्दा बढी व्यक्तिको सहभागिता समेट्न सक्ने दुई विशाल कार्यक्रम हलहरूको व्यवस्थापन छ। फिटनेस सेन्टर, शान्त स्पा, र ताजा अनुभूतिको लागि बाहिरी स्विमिङ पुलले अतिथिहरूलाई थप सेवा र सुविधा प्रदान गर्ने उद्देश्य राखेको छ।
कुल लागत १.५ अर्ब नेपाली रुपैयाँ रहेको यस परियोजनामा सार्वजनिक लगानीलाई प्राथमिकतामा राख्दै भविष्यमा आईपीओ (प्रारम्भिक सार्वजनिक निष्कासन) गर्ने योजना रहेको सञ्चालक समितिले जनाएको छ।
बेस्ट वेस्टर्न प्लस होटल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्र ५ सय मिटरको दूरीमा छ। साथै, धार्मिक पर्यटनको केन्द्र पशुपतिनाथ मन्दिर नजिकै रहेकोले यस होटलले धार्मिक पर्यटकहरूको सेवा मात्र नभई पर्यटन व्यवसायमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।
बेस्ट वेस्टर्न होटल्स एण्ड रिसोर्ट्सको विश्वव्यापी नेटवर्कमा १०० भन्दा बढी देशहरूमा ४,८०० भन्दा बढी होटलहरू रहेका छन्। यो परियोजनाले काठमाडौंको पर्यटन र आतिथ्य उद्योगमा गुणस्तरीय सेवा र आधुनिक सुविधाको नयाँ मानक स्थापना गर्ने लक्ष्य राखेको छ।