काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले आगामी फेब्रुअरी ३ देखि भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट जजिरा एयरवेज र थाइ एशियाले नियमित उडान सुरु गर्ने जानकारी दिएका छन्।
मंगलबार सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै अधिकारीले हाल भैरहवा विमानस्थलबाट नेपाल एयरलाइन्स र फ्लाइ दुबईले पनि उडान गरिरहेको बताए।
उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा-ल्हासा उडानका लागि हिमालय एयरलाइन्सले पहल गरिरहेको जानकारी दिए। विमानस्थलहरूको प्रभावकारी सञ्चालन देशको आर्थिक वृद्धिसँग सम्बन्धित हुने भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रूपमा अन्य क्षेत्रीय विमानस्थलहरूलाई प्राथमिकता दिनुपर्ने धारणा राखे।
महानिर्देशक अधिकारीले यात्रुहरूको लागि सबै सेवा विमानस्थलको ५०० मिटरभित्र उपलब्ध गराउन सके, भैरहवा र पोखरा विमानस्थललाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन सकिने विश्वास व्यक्त गरे।