काठमाडौं । उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झा र प्रतीक थापालाई थुनामा पठाउन आदेश दिएको छ।
उनीहरुले जिल्ला अदालत काठमाडौंले गैरकानुनी रुपमा थुनामा राखेको भन्दै निवेदन दिएका थिए। तर उच्च अदालतले जिल्ला अदालतको निर्णय सदर गर्दै थुनामै राख्न आदेश दिएको हो।
सोमबार उच्च अदालतका न्यायाधीश अञ्जु उप्रेती ढकाल र कैलाशप्रसाद सुवेदीको संयुक्त इजलासले झासहित थापालाई थुनामै राख्नुपर्ने ठहर गरेको हो। यसअघि गत भदौ २ गते जिल्ला अदालत काठमाडौंले झा र थापालाई थुनामा पठाउन आदेश गरेको थियो।
नक्कली भुटानी शरणार्थी प्रकरणले राष्ट्रिय चासो लिइरहेको छ। उच्च अदालतको यो आदेशले अनुसन्धानलाई थप बल पुगेको मानिएको छ। झा र थापालाई थुनामा राखेर छानबिन अघि बढाउने प्रक्रिया अब तीव्र हुने अपेक्षा गरिएको छ।