काठमाण्डौः दोलखाको भीमेश्वर मन्दिरको शिलामा केही दिनअघि पसिना आएपछि आज क्षमा पूजा गरिएको छ। पूर्वराजा ज्ञानेन्द्र शाहको तर्फबाट उनका प्रतिनिधिले शुक्रबार मन्दिरमा क्षमा पूजा गरेका हुन्।
दोलखा भीमसेनको शिलामा आएको पसिनालाई शुद्ध कपासले पुछ्ने चलन रहेको छ। पसिना पुछेको कपासलाई खाममा हालेर राष्ट्र प्रमुखकहाँ पठाएपछि राष्ट्र प्रमुखका तर्फबाट मन्दिरमा क्षमापूजा गर्ने चलन छ।
यसपटक पसिना पुछेको कपास राष्ट्र प्रमुखका हैसियतमा पूर्वराजा शाहलाई पठाइएको थियो। भीमसेनलाई पसिना आएको खबर पाएपछि पूर्वराजा शाहले आफ्ना प्रतिनिधिलाई क्षमा पूजाका लागि पठाएका थिए।
राजतन्त्रका बेला राजपरिवारबाट क्षमापूजा गर्ने चलन रहेको थियो। त्यसपछि सन् २०२० मा भने तत्कालीन राष्ट्रपति विद्या भण्डारीका तर्फबाट क्षमा पूजा गरिएको थियो।
यसपटक भीमसेनको पसिना पुछेको कपास कसलाई पठाउने भन्नेबारे विवादसमेत भएको थियो। अन्तिममा पूर्वराजालाई पठाइएको थियो। राजनीतिले राष्ट्रपतिलाई राष्ट्र प्रमुख माने पनि शास्त्रले राजालाई नै राष्ट्र प्रमुख मान्ने भन्दै पूर्वराजा शाहलाई मन्दिरमा क्षमा पूजाका लागि खबर पठाइएको बताइएको छ।
दोलखा भीमसेनलाई पसिना आए मुलुकमा अनिष्ट हुने विश्वास गरिन्छ।
पसिना आउँदा कहिले के भयो?
२०७० सालमा दुई पटक भीमेश्वरको शिलामा पसिना आयाे, वि.स. २०७२ देशमा विनाशकारी महाभूकम्प गयो। २०५७ को माघ १ र १५ गते पसिना आयाे २०५८ जेठ १९ राजा विरेन्द्रको वंशनाश भयो। २०६१ असार ८ र ९ गते पसिना आयाे, त्यस बेला देशमा तत्कालिन विद्रोही नेकपा माओवादी शान्ति प्रक्रियामा आउने, जनआन्दोलन, राजतन्त्रको अन्त्य गणतन्त्रको स्थापना जस्ता ठूला राजनीतिक परिवर्तनहरू भएका थिए।
२०४६ साल सालमा पसिना आउँदा पन्चायती व्यवस्थाको अन्त्य भई बहुदलको स्थापना भएकाे थियाे भने २००७ सालमा आउँदा प्रजातन्त्रको उदय भएकाे थियाे। १९९० त्यो बेला पनि देशमा विनाशकारी महाभूकम्प गएको थियो।
त्यो बाहेक वि.सं १९९७, २०११, २०१७, २०१८, २०२८, २०३६, २०४५ सालमा पनि भीमेश्वरको शिलामा पसिना आएको थियो। पछिल्लो पटक भने २०७८ बैशाख २५ मा भीमेश्वरलाई पसिना आएको थियो।
तपाइको प्रतिक्रिया राख्नुहोस्
Source link
आवाज बिहिनहरुको आवाज