जनकपुरधाम । धनुषामा कुटपिटबाट हत्या भएका भोगेन्द्र ठाकुरलाई सहिद घोषणा गराउन अनुरोध गर्ने सहितको आठ बुँदामा सहमति भएपछि मिटरव्याजी पीडितले गर्दै आएको आन्दोलन स्थगित भएको छ ।
धनुषाधाम नगरपालिका वडा नंं २ का मृतक ठाकुरका दोषीमाथि कारबाहीसहितका विषयमा आन्दोलनरत मिटरब्याज पीडित सङ्घर्ष समिति र स्थानीय प्रशासनबिच आज आठ बुँदे सहमति भएपछि आन्दोलनको सबै कार्यक्रम स्थगित भएको हो ।
हत्यामा संलग्न भएको आरोप लागेका मिटरब्याजी शिवजी यादव लगायतका व्यक्तिलाई पक्राउ गरी जाहेरी बमोजिम कारबाही, शहीद घोषणाका लागि गृह मन्त्रालयलाई अनुरोध गर्ने, मृतकका बालबालिकालाई निःशुल्क शिक्षा, मिटरब्याज सम्बन्धी उजुरी उपर सुनुवाइ गर्ने लगायतको सहमति भएका छ ।
ठाकुरकी श्रीमती श्यामु कुमारीलाई निःशुल्क उपचार र रोजगारीको व्यवस्था मिलाउने, किरिया खर्च दिने, नाबालक २ छोरीको पालनपोषण एवं विश्वविद्यालय सम्मको निःशुल्क शिक्षाको लागि गृह मन्त्रालयमा अनुरोध गर्ने सहमति भएको छ ।
त्यस्तै मृतकको मिटरब्याज सम्बन्धी मुद्दामा कानुन बमोजिम छिटोछरितो समाधान गर्न गृह मन्त्रालयमा अनुरोध गर्ने, मृतकको परिवारलाई जग्गा भोगचलन गर्न शान्ति सुरक्षाको व्यवस्था मिलाउने र मृतकका विषयमा भएका आन्दोलनका कार्यक्रम स्थगित गर्ने सहमति भएको मिटरब्याज पीडित सङ्घर्ष समितिका अध्यक्ष मनोज पासवानले जानकारी दिनु भएको छ ।
गत सोमबार बिहान हत्या भएका ठाकुरको शवसहित मङ्गलवारदेखि मिटरब्याज पीडित सङ्घर्ष समितिले जनकपुरधाममा आन्दोलन गर्दै आएका थिए । शव सहितको आन्दोलनका कारणले विगत तीन दिन देखि जनकपुरधाम तनावग्रस्त बनेका थिए ।
जिल्ला प्रशासन कार्यालय धनुषामा भएको सहमतिमा प्रमुख जिल्ला अधिकारी रामुराज कडरिया, मिटरब्याज पीडित सङ्घर्ष समितिका केन्द्रीय अध्यक्ष मनोज पासवान, जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रञ्जन अवालगायतले हस्ताक्षर गर्नु भएको छ ।
तपाइको प्रतिक्रिया राख्नुहोस्
Source link
आवाज बिहिनहरुको आवाज