रास्वपाको केन्द्रीय समितिको बैठकमा उपसभामुख रानाको विवाद। रास्वपाको केन्द्रीय समितिको बैठक बिहीबार बिहान ११ बजे केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने बैठकमा संगठनको आन्तरिक रणनीति, आगामी कार्यक्रम र कार्यदिशा तथा दलको अधिवेशनको तयारीबारे छलफल हुने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।
रास्वपाबाट प्रतिनिधि सभाको उपसभामुखमा निर्वाचित इन्दिरा रानाले संसदको लेटरप्याडको दुरुपयोग गरेर अमेरिकी दूतावासलाई भिसा प्रक्रिया छिटो गराउन सिफारिस गरेको पत्र बाहिरिएपछि उनको राजीनामाको माग भइरहेको छ। यस विषयमा पनि रास्वपाको केन्द्रीय कमिटी बैठकमा छलफल हुने बताइएको छ। यद्यपि, रास्वपाले उपसभामुख रानाको विवादित पत्रबारे यसअघि नै खण्डन गरिसकेको छ।
रास्वपाले उक्त पत्रबारे प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको भन्दै सोबारे पार्टीमा सूचना आएपछि तुरुन्तै सोधखोज गरिएको प्रतिक्रिया दिएको छ। ‘विभिन्न कूटनीतिक निकाय एवं जानकारहरूसँग बुझ्दा धेरै राजनीतिक दलका नेताहरूले अन्तर्वार्ता मिति मात्र होइन भिसाकै लागि लिखित वा मौखिक सिफारिस गर्ने गरेको अभ्यास पाइएको छ। उपसभामुखज्यूलगायत अन्य नेताहरूले कूटनीतिक मर्यादासँग सम्बन्धित विषयमा असावधानीपूर्वक गतिविधिहरू गरेर नभएकोबारे अख्तियार प्राप्त निकायबाट हुने निष्पक्ष छानबिनका लागि रास्वपा सधैं तयार रहेको जानकारी गराउन चाहन्छौं,’ पार्टीका कार्यवाहक प्रवक्ता झाद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
यद्यपि रास्वपाका निवर्तमान महामन्त्री डा. मुकुल ढकालले भने अमेरिका पठाउने भनिएका व्यक्तिहरूबाट उपसभामुख रानाको सचिवालयले ९ लाख रुपैयाँ उठाएको दाबी गरेका छन्। उनले उक्त प्रमाण पीडितसँग सुरक्षित रहेको पनि दाबी गरेका छन्। रास्वपाले डा. ढकालको पछिल्लो अभिव्यक्तिको विषयमा पनि केन्द्रीय कमिटीको बैठकमा छलफल गर्ने बुझिएको छ। रास्वपाको केन्द्रीय समितिको बैठकमा उपसभामुख रानाको विवाद।
रास्वपाले उनलाई केही दिनअघि पार्टी महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट मुक्त गरेको थियो। पार्टीको कारबाहीमा परेपछि डा. ढकाल थप आक्रामक भइरहेका छन्। उनले पछिल्लो समय रास्वपाका विवादित विषयमा लगातार धारणा राखिरहेका छन्।