नेपालले आइसिसी टि२० विश्वकप एसिया फाइनल छनोटमा सिंगापुरविरुद्ध टस हारेको छ। टियु क्रिकेट मैदानमा सिंगापुरका कप्तान अरित्र दत्तले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । नेपालले फिल्डिङको निम्तो पाएको छ ।
उपाधिको प्रमुख दाबेदार नेपाल सिंगापुरलाई हराउँदै प्रतियोगितामा सानदार सुरुवात गर्न चाहन्छ । नेपालले त्रिकोणात्मक टि२० आई सिरिजको फाइनलबाट टोलीमा एक परिवर्तन गरेको छ ।
स्पिनर सन्दीप लामिछाने टोलीमा फर्किदा ललित राजवंशी बेन्चमा बसेका छन् । टोलीमा अन्य परिवर्तन गरेको छैन । उता सिंगापुरका ओपनर सुरेन्द्रन चन्द्रमोहन प्रमुख हतियार हुन् । उनको प्रदर्शन टोलीका लागि निकै महत्वपूर्ण हुनेछ । उनी टिकेको खण्डमा टोलीको जित सहज बन्नसक्छ ।
तीव्र गतिका बलर जनक प्रकाश, रोहन रंगराजन र अरित्र दत्त पनि घातक बन्न सक्छन् । २०१९ मा टिम डेविड अष्ट्रेलिया लागेपछि सिंगापुरको टोली कमजोर बनेको छ ।
हेड टु हेड :
नेपाल र सिंगापुरबीच चार टि२० आई खेल भएका छन् । दुई खेल वर्षाको कारण रद्ध भएका थिए । समान एक खेलमा नेपालको जित र हार छ ।
नेपालको प्लेइङ ११ :
आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुलशन झा, सन्दीप लामिछाने र अभिनाश बोहरा ।