२१ भदौ, काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलाई सभामुख बनेको दुई वर्ष पूरा भएको छ। तर, अहिले पनि उनी आफ्नै पूर्वपार्टी नेकपा एमालेकै प्रभावबाट मुक्त हुन नसकेको आरोप पुनः चुलिएको छ। प्रतिपक्षी सांसदहरुमाथि विभेद गर्ने प्रवृत्ति बढ्दै गएको भन्दै उनको भूमिकामाथि कडा आलोचना भइरहेको छ।
सभामुख घिमिरेले हालै संसद बैठकमा माओवादी सांसदको माइक काटिदिएको घटनापछि आलोचना थप चर्किएको छ। प्रतिपक्षी सांसदहरूले उनलाई एमालेप्रति विशेष उदार देखाउने तर प्रतिपक्षी दललाई रोक्ने कार्य दोहोर्याउँदै आएको आरोप लगाएका छन्। यस्ता कार्यले सभामुखको निष्पक्षतामाथि प्रश्न खडा गरेको सरोकारवालाको टिप्पणी छ।
संसदीय शासन प्रणालीमा सभामुखको भूमिका निष्पक्ष रहनुपर्ने मान्यता छ। सभामुखले सबै सांसदलाई समान बोल्ने अवसर दिनुपर्ने, विवादमा न्यायपूर्ण मध्यस्थकर्ताको भूमिका खेल्नुपर्ने र सरकारसँग सन्तुलन कायम राख्नुपर्ने हुन्छ। तर, हाल देखिएको अवस्था यसको विपरीत रहेको प्रतिपक्षीको भनाइ छ।
यद्यपि, घिमिरे मात्र होइन यसअघि पनि सभामुखहरूले आफ्ना पूर्वपार्टीलाई संरक्षण दिने प्रवृत्ति देखिएको थियो। तर, घिमिरेमाथि निरन्तर उठ्ने आलोचनाले उनको भूमिकाप्रति अझै बढी प्रश्न खडा भएको हो। विशेष गरी सत्तापक्षका सांसदलाई समय दिने तर प्रतिपक्षी सांसदलाई रोक्ने प्रवृत्तिले संसदको मर्यादा र लोकतान्त्रिक मान्यतामाथि आंच पुगेको आरोप छ।
राजनीतिक विश्लेषकहरू भन्छन्, सभामुखको निष्पक्षता नै संसदीय लोकतन्त्रको मेरुदण्ड हो। यदि सभामुख दलगत स्वार्थमा बाँधिन्छन् भने संसदप्रति जनविश्वास कमजोर हुन्छ। प्रतिनिधिसभाको सन्तुलन र मर्यादा जोगाउन सभामुखले दलगत प्रभावभन्दा माथि उठेर निष्पक्ष आचरण देखाउनुपर्ने बेला आएको छ।


