महोत्तरीमा विद्यालयको खाजामा छेपारो, ७० बढी विद्यार्थी अस्पतालमा

महोत्तरीमा विद्यालयको खाजामा छेपारो, ७० बढी विद्यार्थी अस्पतालमा

महोत्तरी : महोत्तरीको पिपरा गाउँपालिका–६ रतौलीस्थित आदर्श माध्यमिक विद्यालयमा खाजामा छेपारो परेको घटनापछि ७० भन्दा बढी विद्यार्थीलाई अस्पताल पुर्‍याइएको छ। खाजामा छेपारो देखिएपछि खाएका बालबालिकालाई सुरक्षितताको लागि तत्कालै अस्पताल पुर्‍याइएको हो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओमप्रकाश महतोका अनुसार बिहीवार दिउँसो एक विद्यार्थीको प्लेटमा दिइएको खाजामा छेपारो देखिएपछि बालकले खाजा फालेर घर फर्की अभिभावकलाई जानकारी गराएका थिए। सो जानकारीपछि अन्य बालबालिकाले पनि वाकवाकी भएको बताएपछि सबैलाई उपचारका लागि अस्पताल लगिएको हो।

बालबालिकाहरूलाई जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा पुर्‍याइएको थियो। अस्पतालका अनुसार उनीहरूमा गम्भीर स्वास्थ्य समस्या देखिएको छैन तर सतर्कताका लागि निगरानीमा राखिएको छ।

प्रादेशिक अस्पताल जनकपुरधामका आकस्मिक कक्ष प्रमुख उज्वल झाले विद्यार्थीहरू डराएको बताउँदै स्वास्थ्यमा कुनै समस्या नभएको स्पष्ट पारे। उनले सबैलाई सामान्य अवस्थामा राखिएको र आवश्यक परे थप उपचारको तयारी गरिएको बताए।

यता पिपरा गाउँपालिकाका अध्यक्ष रामजानकी यादवले विद्यालयको दिवा खाजामा छेपारो कसरी पुगेको विषयमा छानबिन गरिने बताएका छन्। उनले दोषीलाई कारबाही गर्ने चेतावनीसमेत दिएका छन्। अस्पतालका अनुसार कतिपय विद्यार्थी उपचारपछि घर फर्किसकेका छन् भने केही अझै निगरानीका लागि अस्पतालमा राखिएका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *