मोन्था चक्रवात : कोशी–मधेसमा भारी वर्षा सतर्कता

मोन्था चक्रवात : कोशी–मधेसमा भारी वर्षा सतर्कता

काठमाडौँ । बंगालको खाडीमा विकसित भएको मोन्था चक्रवात आगामी दुई दिनभित्र नेपाल प्रवेश गर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। चक्रवातको प्रभावले विशेषगरी कोशी र मधेस प्रदेशमा भारी वर्षा हुने सम्भावना रहेको भन्दै विभागले सतर्क रहन आग्रह गरेको छ।

हाल भारतको विशाखपटनम क्षेत्रमा रहेको यो चक्रवात क्रमशः भारतको भू–भाग हुँदै नेपालतिर प्रवेश गर्ने क्रममा रहेको जल तथा मौसम विभागका बाढी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीले जानकारी दिएका छन्।

बिहीबारदेखि शनिबारसम्म उच्च जोखिम

पराजुलीकाअनुसार चक्रवातको प्रभाव बिहीबार कात्तिक १३ गते दिउँसोदेखि १५ गते शनिबार दिउँसोसम्म रहने पूर्वानुमान छ। समुन्द्री क्षेत्रबाट ठूलो मात्रामा जलवाष्प बोकेर ल्याएकाले नेपालको विशेषगरी कोशी प्रदेश र मधेस प्रदेशमा भारी वर्षाको सम्भावना छ।

यसको प्रभाव बागमती प्रदेश र कोशी प्रदेशका हिमाली क्षेत्रमा पनि फैलिन सक्छ। साथै, उच्च हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना रहेको छ, जसले पर्वतारोहण र दैनिक जनजीवनमा असर पार्न सक्छ।

बाढी पूर्वानुमान शाखा प्रमुख पराजुलीले चक्रवातका कारण ठूला नदीहरूको जल सतह उल्लेख्य रूपमा बढ्ने सम्भावना रहेको बताएका छन्। बागमती र कोशीजस्ता ठूला नदीमा ठूला बाढी आउने जोखिम नरहे तापनि नदी सतह सतर्कता तहसम्म पुग्न सक्ने भएकाले नदी तटीय क्षेत्रमा बसोवास गर्ने नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ।

यद्यपि, मधेस र कोशी प्रदेशका पहाडी तथा चुरे क्षेत्र भएर बग्ने साना खोला(नालाहरूमा भने आकस्मिक तथा तिब्र बहावको सम्भावना रहेको भन्दै कात्तिक १३ गते रातिदेखि १५ गतेसम्म उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

जल तथा मौसम विभागका प्रवक्ता विभूति पोखरेलले पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभावले गर्दा मंगलबार बदली देखिएको बताए। उनकाअनुसार, बुधबारदेखि मौसममा सुधार आउँदै जानेछ, तर बिहीबारबाट चक्रवात ‘मोन्था’ सक्रिय हुने भएकाले नेपालको मौसम फेरि प्रभावित हुनेछ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *