कीर्तिपुर क्रिकेट रंगशाला निर्माण तीव्र पार्न प्रधानमन्त्री ओलीको निर्देशन

कीर्तिपुर क्रिकेट रंगशाला निर्माण तीव्र पार्न प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रंगशाला को पूर्वाधार निर्माण तोकिएको समयमा सम्पन्न गर्ने गरी काम तीव्र पार्न शहरी विकास मन्त्रालयलाई निर्देशन दिएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रालयका विषयमा भएको ब्रिफिङका क्रममा प्रधानमन्त्री ओलीले रंगशालालाई अन्तर्राष्ट्रिय स्तरको बनाउन आवश्यक कार्य शीघ्र अघि बढाउन आग्रह गरे।

प्रधानमन्त्री ओलीले पदबहाली गरेपछि ३०० दिनभित्र कीर्तिपुर क्रिकेट रंगशालाको स्तरोन्नति गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। रंगशालामा प्यारापिट र फ्लडलाइट निर्माणका लागि मन्त्रालयले बोलपत्र आह्वान गरिसकेको र मूल्यांकन चरण पूरा हुन लागेको जानकारी प्रधानमन्त्रीलाई दिइएको थियो। उनले यस चरणको काम जारी रहँदै अर्को चरणको निर्माण प्रक्रियालाई पनि तीव्रता दिन निर्देशन दिए।

बैठकमा प्रधानमन्त्री ओलीले नयाँ आर्थिक वर्ष सुरू भएसँगै बजेट र कार्यक्रमको कार्यान्वयनमा ढिलाइ हुनु गलत प्रवृत्ति भएको उल्लेख गर्दै पूर्वाधार निर्माणमा हुने ढिलाइले देशको उत्पादन र उत्पादकत्व वृद्धिमा असर पार्ने बताए। चालु आर्थिक वर्षमा शहरी विकास मन्त्रालयको प्रगति दर चालु खर्चतर्फ १९.३५% र पूँजीगत खर्चतर्फ १२.०४% मात्रै रहेको तथ्यांक सार्वजनिक भए पनि समग्र कार्य सन्तोषजनक रहेको उनले बताए।

बैठकमा उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहसहित मन्त्रालयका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो। छलफलका क्रममा संघीय संसद भवन, धरहरा, संघीय मन्त्रीहरूको निवास, दमक व्यापारिक कम्प्लेक्स, नेपाली सेनाको चण्डी दल, थापाथलीस्थित नेपाल राष्ट्र बैंक भवन निर्माण लगायतका योजनाबारे प्रधानमन्त्रीलाई जानकारी गराइएको थियो।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *