काठमाडौँ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले १० किलो सुनको सूचना पछ्याउँदा १४ किलो सुन बरामद गरेको बताएको छ । शुक्रवार पत्रकारसँग कुराकानी गर्दै विमानस्थल भन्सार कार्यालयका प्रमुख डा. टोकराज पाण्डेले १० किलो सुन आउने सूचना पछ्याउँदा १४ किलो सुन बरामद भएको बताए ।
विमानस्थल भन्सारका प्रमुख भन्सार प्रशासक पाण्डेका अनुसार केही दिन अगाडि नै दुबईबाट १० किलो सुन आउँदै छ भन्ने सूचना प्राप्त भएको थियो । सुन कहिले आउँदै छ भन्ने स्पष्ट सूचना नभए पनि सुन ल्याउने व्यक्तिको हुलिया र सुन आउन लागेको बारे सूचना आएको थियो ।
सूचना दिने व्यक्तिले १० किलो सुन आउँदै छ भनेपछि आफूहरूले निगरानी बढाएको र प्रमुख प्रशासक आफै फिल्डमा खटिएको पाण्डेले बताए । प्रमुख प्रशासक पाण्डे बुधवार रातभर र बिहीबार समेत रातभर फिल्डमा खटिएका थिए । बिहीबार विमानबाट ओर्लने बित्तिकै सूचनामा आएको व्यक्तिको हुलिया मिलेपछि उनलाई सोझै एक्सरेमा ल्याएर चेकजाँच गरिएको पाण्डेको भनाइ छ ।
पाण्डेले भने, ‘उनी विमानबाट ओर्लने बित्तिकै हामीले वाक थ्रुबाट एक्सरेमा ल्यायौँ । सर्टभित्र ज्याकेटजस्तो झोला बनाएर सात वटा बिस्कुटमा २ किलोको दरले १४ किलो सुन ल्याएका रहेछन् । हामीले नियन्त्रणमा लिई सुन ल्याउन सहजीकरण गर्ने र नेपालमा रिसिभ गर्ने व्यक्तिलाई पनि समातेका छौँ ।’


