काठमाडौँ — अमेरिकी राष्ट्रपति जो बाइडेनका विशेष सहायक तथा दक्षिण एसियाका लागि राष्ट्रिय सुरक्षा परिषद्की वरिष्ठ निर्देशक रियर एडमिरल इलिन लाउबाचर बुधबार नेपाल भ्रमणमा आएकी छन् ।

काठमाडौं ओर्लिएपछि बुधबारै उनले परराष्ट्रमन्त्री एनपी साउद, प्रधानसेनापति प्रभुराम शर्मा र राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागीसँग भेटवार्ता गरिन् ।
उनले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भने बिहीबार बिहान भेटवार्ता गर्नेछिन् । उच्च स्रोतका अनुसार त्यस क्रममा प्रधानमन्त्री दाहालले राष्ट्रपति बाइडेनसमक्ष नेपाल भ्रमणको निम्तो पठाउने गृहकार्य गरेका छन् । परराष्ट्रमन्त्री साउद र लाउबाचरबीच दुई मुलुकबीचको सम्बन्धलाई थप बलियो बनाउने र द्विपक्षीय सहकार्य थप बढाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सैनिक मुख्यालयमा प्रधानसेनापति शर्मासँगको शिष्टाचार भेटवार्तामा दुईपक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धबारे छलफल भएको सेनाले उल्लेख गरेको छ । लाउबाचरले बैरागीलाई सिंहदरबारमै भेटेकी थिइन् । राष्ट्रिय सुरक्षा परिषद्की वरिष्ठ निर्देशक लाउबाचर दक्षिण एसिया क्षेत्रलाई नजिकबाट हेरिरहेकी अमेरिकी अधिकारी हुन् । उनको पद रियर एडमिरल नेपालको उपरथीसरहको हो । अमेरिकामा राष्ट्रिय सुरक्षा परिषद् ह्वाइट हाउसअन्तर्गत छ । लाउबाचरले भारतस्थित अमेरिकी दूतावासमा सैनिक सहचारीका रूपमा काम गरेकी छन् ।


