कांग्रेसमा ६० प्रतिशत समर्थन शेखर कोईरालालाई

कांग्रेसमा ६० प्रतिशत समर्थन शेखर कोईरालालाई

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले पार्टीका नेता डा. शेखर कोईरालाको पक्षमा हाल ६० प्रतिशतसम्म सांसदहरू रहेको दाबी गरेका छन्। आइतबार शेखर पक्षीय सांसद तथा नेताहरूसँगको भेटपश्चात सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो अभिव्यक्ति दिएका हुन्।

उनका अनुसार हाल सरकारका विभिन्न तहहरूमा रहेका शेखर समर्थक मन्त्रीहरूलाई फिर्ता बोलाउने विषयमा पनि छलफल भएको छ। यद्यपि यसबारे कुनै निष्कर्ष भने ननिस्किएको र अर्को चरणको बैठकले ठोस निर्णय लिने सहमति भएको उनले स्पष्ट पारे।

डा. शर्माले भने, “हाम्रा साथीहरू केन्द्र र प्रदेश दुबै तहमा मन्त्री पदमा हुनुहुन्छ। आवश्यकता परे सबैलाई ब्याक बोलाउने पनि जान सक्छौं।” उनले अझै जोड दिँदै भने, “शेखर कोईरालाले संसदीय दलको नेतामा भिड्ने निर्णय गरेमा हामीसँग ६० प्रतिशत समर्थन जुट्नेछ।”

उनले हाल मुलुक दुःखद, रोइरहेको अवस्थामा रहेको बताउँदै, वर्तमान सरकारले सुशासन, पारदर्शिता, र भ्रष्टाचार नियन्त्रणमा असफल भएको आरोप पनि लगाए। साथै आफूले यो वर्ष कम्पनी नवीकरण गर्दा कसैलाई घुस नदिएको उदाहरण दिँदै सत्ताको चरित्रप्रति असन्तुष्टि व्यक्त गरे।

शेखर कोईरालाले हालै प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र र सत्ता साझेदार एमाले नेतृ पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग गोप्य राजनीतिक भेटघाट गरेका थिए। त्यसपछि सरकार परिवर्तनको सम्भावनाको चर्चा थप बलियो बनेको हो।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *