नागुवासीको सडक माग पूरा नभएसम्म मतदान बहिष्कार

नागुवासीको सडक माग पूरा नभएसम्म मतदान बहिष्कार

२ फागुन, दार्चुला । दार्चुलाको नौगाड गाउँपालिका–१ नागु क्षेत्रका स्थानीयले सडक निर्माणको माग पूरा नभएसम्म मतदानमा सहभागी नहुने अडान दोहोर्‍याएका छन्। २०७० सालदेखि निरन्तर मतदान गर्दै आएकी सुशीला डडालले राजनीतिक दलहरूले पटकपटक झुटा आश्वासन दिएको भन्दै यसपटक भोट नदिने निर्णय गरेको बताइन्। उनका अनुसार गाउँमा गोरेटो बाटोसमेत राम्रो छैन, पुल बगाएको छ र आधारभूत सेवा पुग्न घण्टौं हिँड्नुपर्छ।

नागुवासीको सडक माग पूरा नभएसम्म मतदान बहिष्कार
नागुवासीको सडक माग पूरा नभएसम्म मतदान बहिष्कार

स्थानीय ठगेन्द्रसिंह जुहारी र लालसिंह डडालले पनि सडक निर्माण सुरु नभएसम्म मतदान नगर्ने बताएका छन्। उनीहरूका अनुसार ०६४ देखि ०७९ सम्म फरक–फरक दलका उम्मेदवारलाई जिताए पनि विकासमा उल्लेख्य काम हुन सकेन। विद्यालय भवन, पुल र सञ्चार सेवा जस्ता आधारभूत आवश्यकता अझै पूरा नभएको उनीहरूको गुनासो छ।

स्थानीयको माग सम्बोधन गर्न प्रमुख जिल्ला अधिकारी अनिल पौडेल नेतृत्वको टोली नागु पुगे पनि ठोस निष्कर्ष ननिस्किएपछि स्थानीय आश्वस्त हुन सकेनन्। टोलीले नागरिकता वितरण, स्वास्थ्य सेवा र पशु उपचार सेवा सञ्चालन गरे पनि स्थानीयले सडक निर्माणको लिखित प्रतिबद्धता खोजेका छन्। उम्मेदवारहरूसँग छलफलका लागि तयार रहेको स्थानीयले बताएका छन्।

नागु क्षेत्र जोड्ने दल्लेख–नागु सडकमा चालु आर्थिक वर्षमा बजेट नपरेपछि समस्या झन चर्किएको छ। गत वर्षसम्म केही खण्डमा काम भए पनि अझै करिब १० किलोमिटर सडक निर्माण बाँकी छ। डीपीआर नबन्नु र प्रदेश सरकारले बजेट विनियोजन नगर्नुले सडक योजना अलपत्र परेको बताइएको छ।

चुनाव बहिष्कारको घोषणापछि सरकारले नागु क्षेत्रमा खाद्यान्न ढुवानी सुरु गरेको छ। हाल चामल जिप, ट्याक्टर र खच्चडमार्फत गाउँसम्म पुर्‍याइँदैछ। तर, बजारभन्दा महँगो मूल्यमा चामल वितरण भइरहेको भन्दै स्थानीय असन्तुष्ट छन्। उनीहरूले सहुलियत मूल्यमा खाद्यान्न र सडक निर्माणको ठोस योजना नभएसम्म बहिष्कार कायम रहने स्पष्ट पारेका छन्।

नागुवासीको सडक माग पूरा नभएसम्म मतदान बहिष्कार
0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *