१८ साउन, काठमाडौं – दाङ जिल्लामा पर्ने लमहि–घोराही सडकखण्ड चार दिनसम्म पूर्णरूपमा बन्द गरिने भएको छ। सडकखण्डमा पर्ने मसोट खोलाको पुल आकस्मिक रूपमा मर्मत गर्नुपर्ने भएकाले सवारी सञ्चालनमा अस्थायी रोक लगाइएको हो।
साउन २१ गते बिहान ७ बजेदेखि २४ गते बिहान ७ बजेसम्म, दुईपांग्रे सवारीबाहेक अन्य सबै सवारी साधन पूर्णरूपमा बन्द गरिने जिल्ला प्रशासन कार्यालय दाङमा शनिबार बसेको सरोकारवालाहरूको बैठकले निर्णय गरेको हो।
सडक बन्दको अवधिमा सवारीचालक तथा यात्रुहरूले लमही–अर्जुनखोला–अमेलिया–तुलसीपुर–घोराही वैकल्पिक मार्ग प्रयोग गर्नुपर्नेछ। त्यसअनुसार जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराहीलाई निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले जानकारी दिएका छन्।
यसैबीच, सडक डिभिजन कार्यालयले मसोट खोला पुल नजिकको डाइभर्सन मर्मत गर्ने जिम्मा लिएको छ। साथै, अत्यावश्यक सेवाका सवारी साधनलाई ट्राफिक प्रहरीको निगरानीमा संचालन गर्न दिने निर्णय पनि भएको छ।
पुल मर्मत नहुँदा यस क्षेत्रको आवागमनमा अस्थायी असर पर्ने भए पनि सुरक्षालाई प्राथमिकता दिँदै काम छिटो सम्पन्न गरिने प्रशासनको भनाइ छ।



