रोनाल्डोको कीर्तिमानी गोलमा पोर्चुगलको शानदार जित


९ असार, काठमाडौं । क्रिस्टियानो रोनाल्डोले कीर्तिमानी गोल गरेपछि पोर्चुगलले फिफा विश्वकप २०२६ मा पहिलो जित हात पार्दै नकआउट चरणमा प्रवेश गर्ने सम्भावना बलियो बनाएको छ ।

समूह के अन्तर्गत अमेरिकाको ह्युस्टनमा भएको खेलमा रोनाल्डोको दुई गोल मदतमा पोर्चुगलले पहिलो पटक विश्वकप खेलिरहेको उज्वेकिस्तानलाई ५-० ले पराजित गरेको हो ।

पोर्चुगलका नुनो मेन्डेज र राफेल लिआऔले पनि १-१ गोल गरे भने एक आत्मघाती गोल उपहार पाएको थियो ।

समुह के मा पहिलो जितपछि पोर्चुगल २ खेलबाट ४ अंक जोड्दै शीर्ष स्थानमा उक्लेको छ र नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ ।

पहिलो खेलमा पोर्चुगलले डिआर कंगोसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको थियो । लगातार दोस्रो हारपछि उज्वेकिस्तान भने समूह चरणबाटै बाहिरिने संघारमा पुगेको छ । अर्को खेलमा डिआर कंगोले कोलम्बियालाई पराजित गरेमा उज्वेकिस्तान अन्तिम खेल खेल्नुअघि नै समुह चरणबाट बाहिरिने निश्चित हुनेछ ।

पोर्चुगलले अब समुहको अन्तिम खेल कोलम्बियासँग २७ जुनमा खेल्नेछ । त्यसअघि कोलम्बियाले बुधबार बिहान डिआर कंगोसँग आफ्नो दोस्रो खेल खेल्नेछ ।

रोनाल्डोले खेलको छैटौं मिनेटमै गोल गर्दैं लगातार ६ विश्वकपमा गोल गर्ने पहिलो खेलाडीको कीर्तिमान बनाउँदै पोर्चुगललाई सुरुमै अग्रता दिलाएका थिए ।

समूहको पहिलो खेलमा डिआर कंगो विरुद्ध गोल गर्न असफल भएका रोनाल्डोले उज्वेकिस्तान विरुद्ध सुरुमै गोल गर्दै ६ विश्वकपमा गोल गर्ने एक्लो खेलाडी बने ।

रोनाल्डोले सन् २००६ देखि २०२६ सम्म लगातार ६ विश्वकप खेल्दा ६ वटै विश्वकपमा गोल गरेका हुन् ।

रोनाल्डोको गोलपछि पोर्चुगलले सुरुवातदेखि ने उज्वेकिस्तानलाई दबाबमा राखेको थियो । फलस्वरुप नुनो मेन्डेजले १७औं मिनेटमा फ्रिकिक मार्फत गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर पारे ।

रोनाल्डोले पहिलो हाफमा दोस्रो गोल गर्ने क्रममा ३९औं मिनेटमा गोल थपे । यो गोलले पहिलो हाफमा पोर्चुगलले ३-० को अग्रता बनायो ।

पहिलो हाफमै दुई गोल गर्दे रोनाल्डोले पोर्चुगलका लागि विश्वकपमा सर्वाधिक गोल गर्ने कीर्तिमान पनि बनाए । उनले युसोबियाको नाममा रहेको ९ गोलको कीर्तिमान तोड्दै १० गोल गरेका हुन् ।

उनले दोस्रो पटक विश्वकपको एकै संस्करणमा एक भन्दा बढी गोल गरेका हुन् ।

रोनाल्डोले सन् २००६ मा डेब्यु विश्वकपमा १ गोल गरेका थिए भने २०१० र २०१४ मा पनि १-१ गोल गरेका थिए । यस्तै सन् २०१८ मा भने स्पेन विरुद्ध ह्याट्रिकसहित ४ गोल गरेका थिए । सन् २०२२ मा १ गोल गरेका थिए भने हाल उत्तर अमेरिकामा भइरहेको विश्वकपमा पनि १ गोल गरिसकेका छन् ।

रोनाल्डो विश्वकपमा गोल गर्ने दोस्रो बुढा खेलाडी समेत बनेका छन् । उनले ४१ वर्ष १३८ दिनको हुादा उज्वेकिस्तान विरुद्ध गोल गरेका हुन् । यसअघि क्यामरुनका रोजर मिल्लाले ४२ वर्ष  ३९ दिनको हुँदा सन् १९९४ को विश्वकपमा रसिया विरुद्ध गोल गरेका थिए ।

पहिलो हाफमा तीन गोलको अग्रता बनाएको पोर्चुगलले दोस्रो हाफमा आत्मघाती गोल उपहार पाएको थियो ।

म्यानचेस्टर सिटीबाट खेल्ने उज्वेकिस्तानका अब्दुभोहिद नेमातोभले ६०औं मिनेटमा बल क्लियर गर्ने क्रममा आफ्नै पोस्टमा गोल गरेपछि पोर्चुगलले ४-० को अग्रता बनायो ।

पोर्चुगल यतिमै रोकिएन । वेकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका लिआओले ८७औं मिनेटमा गोल गरे ।

समूह के को अर्को खेलमा कोलम्बिया र डिआर कंगोबीच बुधबार बिहान प्रतिस्पर्धा हुँदैछ । यो खेल बिहान पौने ८ बजे सुरु हुनेछ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *