काठमाडौं । गत असार २४ गते आएको बाढीका कारण अवरुद्ध बनेको स्याफ्रुबेँसी–रसुवागढी सडक खण्ड आजदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको छ। ल्हेन्दे खोलामा आएको बाढीका कारण दर्जनौं स्थानमा सडक क्षति भएपछि यातायात पूर्णरूपमा ठप्प भएको थियो।
रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार, सडक विभाग, रसुवागढी, र भोटेकोशी जलविद्युत् आयोजनाका डोजर तथा स्काभेटर प्रयोग गरी सडक सफा र खुला गरिएको हो। हाल हलुका सवारीसाधनहरूलाई मात्रै चल्न दिइएको छ।
बाढीका कारण सबैभन्दा जटिल भएको क्षेत्र लिङ्लिङ रहेको छ, जहाँको भूगर्भिक संरचना कमजोर भएकाले नयाँ ट्रयाक खोल्न केही दिन लागेको हो। त्रिशूली–गल्छी–रसुवागढी सडक सुधार आयोजनाका अनुसार, अब काठमाडौँबाट छुटेका हलुका सवारीहरू सिधै रसुवागढीसम्म पुग्न सक्नेछन्।
आयोजनाका प्रमुख खड्गलाल श्रेष्ठले नयाँ ट्रयाकमा माटो जमिसकेपछि मालवाहक सवारी पनि सञ्चालन गरिने जानकारी दिए। यद्यपि लिङ्लिङ र टिमुरे तथा तातोपानीबीचको क्षेत्रमा अझै भासिन सक्ने जोखिम रहेकोले सुरक्षाकर्मीको सल्लाह अनुसार मात्र सवारी सञ्चालन गर्न अनुरोध गरिएको छ।


