वामदेव गौतम पुनः नेकपा एकीकृत समाजवादीमा

वामदेव गौतम पुनः नेकपा एकीकृत समाजवादीमा, पार्टी एकताकाे अन्तिम सहमति

काठमाडौं । पूर्वउपप्रधानमन्त्री तथा नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम अन्ततः नेकपा (एकीकृत समाजवादी) मा पुनः प्रवेश गर्न लागेका छन्। लामो समयदेखि राजनीतिक अनिश्चिततामा रहेका गौतमले पार्टी एकता गर्ने अन्तिम सहमति गरिसकेका छन्।

गौतम र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालबीच पार्टी एकीकरणको सहमति भएको छ। २०८२ साउन २ गते राष्ट्रिय सभा सभागृहमा भव्य समारोहका साथ पार्टी एकता घोषणा गरिने जानकारी गराइएको छ। दुबै पक्षबीच सिद्धान्त, कार्यक्रम, रणनीति र कार्यदिशामा सहमति रहेको उल्लेख गरिएको छ।

वामदेव गौतमले २०७७ सालमा नेकपा विभाजनपछि ‘नेकपा एकता राष्ट्रिय अभियान’ गठन गरेर पुनः एकीकरण प्रयास गरे पनि त्यो सफल भएन। उनले एमालेमा फर्किने प्रयास पनि गरे तर कुरा नमिलेपछि अहिले एकीकृत समाजवादीमा फर्कने निर्णय गरेका हुन्।

गौतमले ०८१ सालमा पनि एकता प्रयास गरेका थिए तर संगठन विभाग प्रमुखजस्ता उच्च पदको मागका कारण सहमति विफल भएको थियो। तर अहिले उनले कुनै विशेष माग नगरी सबै निर्णय पार्टी नेतृत्वमै छाडेका छन्, जसले एकताको सम्भावना बलियो बनाएको छ।

वामदेव गौतमको राजनीतिक यात्रा पुनः एक पटक मोडिएको छ। अब कुनै नयाँ राजनीतिक मोड नआएमा उनी एकीकृत समाजवादीमा नेताको रूपमा सक्रिय रहने देखिन्छ। विगतका अस्थिरता र मागहरूपछि अहिलेको सम्झौता दीर्घकालीन हो वा होइन, त्यो भने समयले देखाउनेछ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *