यस वर्षको एसईई परीक्षा: सम्पूर्ण तयारी पूरा, ५ लाख १४ हजार विद्यार्थी सहभागी हुने

यस वर्षको एसईई परीक्षा: सम्पूर्ण तयारी पूरा, ५ लाख १४ हजार विद्यार्थी सहभागी हुने

काठमाडौं, चैत ४ : राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको माध्यमिक शिक्षा परीक्षा ( एसईई परीक्षा ) का लागि सम्पूर्ण तयारी पूरा गरेको छ। कक्षा–१० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार चैत ७ गतेदेखि देशभर एकसाथ परीक्षा सुरु हुनेछ। परीक्षाका लागि आवश्यक प्रश्नपत्र, सिम्बोल नम्बर, उत्तरपुस्तिका, तथा अन्य सामग्री सबै जिल्लामा पठाइसकिएको छ।

गत वर्षको तुलनामा यस वर्ष परीक्षार्थीको संख्या वृद्धि भएको छ। २०८० सालमा ४,६४,७८५ विद्यार्थी सहभागी भएका थिए भने यस वर्ष ४९,२८६ जनाको वृद्धि भई ५,१४,०७१ विद्यार्थी परीक्षामा सहभागी हुँदैछन्।

यस पटक देशभर २,०७९ परीक्षा केन्द्र निर्धारण गरिएको छ। परीक्षामा १५० जना विद्यार्थी भएको केन्द्रमा एक जना सहायक केन्द्राध्यक्ष तोकिनेछ भने २० विद्यार्थी बराबर एक जना निरीक्षक खटाइनेछ। ७५ भन्दा कम परीक्षार्थी भएका केन्द्रहरूमा सहायक केन्द्राध्यक्ष नराखिने बताइएको छ।

बाल सुधार केन्द्र र कारागारबाट पनि विद्यार्थीहरूलाई परीक्षा दिने व्यवस्था गरिएको छ। यस अन्तर्गत काठमाडौं, दैलेखका दुई कारागार र भक्तपुरको बाल सुधार गृहमा परीक्षा केन्द्र तोकिएको छ। यसैगरी, कीर्तिपुरस्थित ‘सफलता एचआईभी शिक्षा सदन’ बाट चार जना एचआईभी सङ्क्रमित विद्यार्थी पनि एसईई परीक्षा दिन लागेका छन्।

यस वर्षको एसईई परीक्षा चैत ७ गतेदेखि १९ गतेसम्म सञ्चालन हुनेछ। परीक्षा बिहान ८ बजे सुरु भई ११ बजे सकिनेछ।

  • चैत ७: अनिवार्य अंग्रेजी, संस्कृत वेदविद्याश्रमका लागि अनिवार्य संस्कृत, मदरसातर्फ अनिवार्य अरबी भाषा
  • चैत ८: अनिवार्य नेपाली, गैरनेपाली विद्यार्थीका लागि ऐच्छिक अंग्रेजी
  • चैत १०: अनिवार्य गणित
  • चैत १२: अनिवार्य विज्ञान तथा प्रविधि, संस्कृततर्फ शुक्लयजुर्वेद, सामवेद, अथर्ववेद, नीतिशास्त्र आदि
  • चैत १३: अनिवार्य सामाजिक शिक्षा
  • चैत १४: ऐच्छिक प्रथम विषय
  • चैत १५: ऐच्छिक द्वितीय विषय

यस वर्षको एसईई परीक्षाको नतिजा लेटर ग्रेडिङ प्रणालीअनुसार सार्वजनिक गरिनेछ। परीक्षा नियन्त्रण कार्यालयले उत्तीर्ण दर ७० प्रतिशत पुर्‍याउने लक्ष्य राखेको छ। अघिल्लो वर्ष २०८० मा मात्र ४८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षाको मर्यादित सञ्चालनका लागि सबै सुरक्षा उपाय अपनाइनेछ। परीक्षार्थीहरूलाई समयमा केन्द्र पुग्न, परीक्षा नियमहरू पालना गर्न, र नकल नगर्न आग्रह गरिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *