काठमाडौँ, फागुन २१ : प्रधानमन्त्री केपी शर्मा ओलीले मानव अधिकारको रक्षा र संविधानद्वारा प्रत्याभूत मौलिक हकहरूको कार्यान्वयनमा सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभएको छ। राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानव अधिकार एलायन्स) को छैटौँ राष्ट्रिय महाधिवेशन तथा मानव अधिकार रक्षकको पाँचौँ राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले कानुनी शासनको पालना गर्दै मानव अधिकार उल्लङ्घन हुन नदिन सरकारले विशेष ध्यान दिने स्पष्ट गर्नुभयो।
उहाँले मानव अधिकारको विषयमा नक्कली र सतही धारणा राख्ने प्रवृत्तिहरूप्रति सचेत रहनुपर्ने बताउँदै सरकारले मानव अधिकार हननकर्तालाई कानुनी दायरामा ल्याउने उल्लेख गर्नुभयो। लोकतन्त्र प्राप्तिका लागि विभिन्न आन्दोलनका क्रममा बलिदान दिने शहीदहरूको योगदान स्मरण गर्दै उहाँले जनताको अधिकार सुनिश्चित गर्नु सरकारको प्रमुख कर्तव्य भएको बताउनुभयो।
कार्यक्रममा प्रधानमन्त्री ओलीले गरिबी, भोकमरी, र असमानताविरुद्ध लड्न आवश्यक रहेको औँल्याउँदै केवल कागजमा लेखिएको मानव अधिकारले मात्र जनतालाई राहत नदिने स्पष्ट गर्नुभयो। नेपालले मृत्युदण्डको सजायको व्यवस्था नअपनाउने तर अपराधको प्रकृतिअनुसार कडा कारबाहीको व्यवस्था रहने बताउँदै उहाँले मानव अधिकार संरक्षणका लागि सरकार दृढ रहेको उल्लेख गर्नुभयो।
महाधिवेशनको अवसरमा वरिष्ठ पत्रकार भैरव रिसाललाई ‘केपी शर्मा ओली मानव अधिकार तथा स्वतन्त्रता पुरस्कार’ प्रदान गरियो। कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, मानव अधिकारकर्मी, तथा नागरिक समाजका सदस्यहरूको उपस्थिति थियो।