पर्वतमा निःशुल्क लोकसेवा तयारी कक्षा सुरु, महिलाहरूलाई सरकारी सेवामा प्रोत्साहन

पर्वतमा निःशुल्क लोकसेवा तयारी कक्षा सुरु, महिलाहरूलाई सरकारी सेवामा प्रोत्साहन

पर्वत, फागुन १७ : सामाजिक विकास कार्यालय पर्वतले आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका महिलाहरूलाई सरकारी सेवामा प्रवेशका लागि प्रोत्साहित गर्न निःशुल्क लोकसेवा आयोग तयारी कक्षा सुरु गरेको छ। २० दिने यो विशेष कक्षा राजपत्र अनंकित द्वितीय सहायकस्तर (चौथो) पाठ्यक्रम अनुसार नायब सुब्बा र खरिदार पदको तयारी गर्न सञ्चालन गरिएको हो।

गण्डकी प्रदेशभित्रका विभिन्न जिल्लाका निश्चित योग्यता पुगेका महिलाहरूलाई सहभागी गराइएको छ। कार्यालयका सूचना अधिकारी बालकृष्ण घिमिरेका अनुसार आदिवासी जनजाति, दलित, अपाङ्गता भएका, मधेसी लगायत सरकारी सेवामा अवसर नपाएका महिलाहरूलाई प्राथमिकता दिइएको छ। तर, ४० जनाको कोटा भए पनि २८ जनाले मात्र आवेदन दिएका थिए, जसबाट १८ जना मात्र उपस्थित भएका छन्।

विदेश अध्ययन तथा रोजगारतर्फ युवाहरूको बढ्दो आकर्षणलाई न्यूनीकरण गर्दै स्वदेशमै अवसर खोज्ने वातावरण निर्माण गर्ने उद्देश्यले यो कक्षा सञ्चालन गरिएको हो। कार्यालय प्रमुख गोविन्दप्रसाद पौडेलका अनुसार जिल्लाका अनुभवी प्रशिक्षकद्वारा सैद्धान्तिक र प्रयोगात्मक विधिहरू प्रयोग गरेर कक्षा सञ्चालन गरिएको छ। विगतका वर्षहरूमा तुलनात्मक रूपमा उच्च सहभागिता देखिए पनि यस वर्ष महिलाहरूको संख्यामा केही गिरावट आएको छ।

परीक्षार्थी रीता परियारका अनुसार महँगा तयारी कक्षा लिन नसक्ने महिलाहरूका लागि यो कार्यक्रम सुनौलो अवसर बनेको छ। बागलुङको जैमिनी नगरपालिकाबाट सहभागिता जनाएकी परियारले समय र परिस्थितिले पढ्न नपाएकाहरूका लागि यो कार्यक्रम अत्यन्त लाभदायक रहेको बताइन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *