काठमाडौं, फागुन १५ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विभिन्न मेला, महोत्सवमा तथा जात्राहरूमा सुर्तीजन्य पदार्थको विज्ञापन वा प्रवर्द्धन नगर्न आग्रह गरेको छ। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार केही मेला, महोत्सव र जात्राहरूमा सुर्तीजन्य पदार्थ उत्पादन गर्ने कम्पनीहरूको संलग्नता देखिएकाले मन्त्रालयले यसप्रति ध्यानाकर्षण गरेको हो।
सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन गर्ने) ऐन, २०६८ को दफा १० अनुसार कसैले पनि पत्रपत्रिका, टेलिभिजन, इन्टरनेट, होडिङ बोर्ड, लोगो वा कुनै पनि माध्यमबाट सुर्तीजन्य पदार्थको विज्ञापन वा प्रवर्द्धन गर्न मिल्दैन। कानुन उल्लङ्घन गर्ने संस्थाहरूलाई मन्त्रालयले कानुनी कारबाही गर्ने चेतावनी दिएको छ।
स्वास्थ्य मन्त्रालयले सुर्तीजन्य पदार्थको सेवन मानव स्वास्थ्यका लागि अत्यन्त हानिकारक रहेको भन्दै मेला, महोत्सव वा अन्य कुनै सार्वजनिक कार्यक्रमहरूमा सुर्तीजन्य पदार्थ उत्पादकलाई प्रायोजक नराख्न अनुरोध गरेको छ।
मन्त्रालयले सुर्तीजन्य पदार्थ नियन्त्रण निर्देशिका, २०८१ जारी गरिसकेको छ, जसअनुसार प्याकेजिङमा चेतावनीमूलक सन्देश र तस्वीर राख्नुपर्ने प्रावधान लागू गरिएको छ। यी व्यवस्थाहरूले जनस्वास्थ्यमा सुधार ल्याउने, सुर्तीजन्य पदार्थको प्रयोग घटाउने, तथा सम्बन्धित रोगहरू र मृत्युदर न्यूनीकरणमा योगदान पुर्याउने मन्त्रालयको विश्वास छ।
साथै, मन्त्रालयले कानुन उल्लङ्घनको जानकारी हेलो स्वास्थ्य कल सेन्टर (१११५) वा भाइबर/ह्वाट्सएप नम्बर ९८५१३३०५९२ मार्फत दिन अनुरोध गरेको छ।