काठमाडौं, फागुन ११ : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रसेवक कर्मचारीहरूलाई जनतालाई छिटो छरितो सेवा प्रदान गरी सुशासन र समृद्धिको यात्रामा साथ दिन आग्रह गर्नुभएको छ। सिंहदरबारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आयोजित ७४ औँ जन्मदिन शुभकामना कार्यक्रममा उहाँले देशको गरिबी हटाउने तथा सुशासनलाई सुदृढ गर्ने लक्ष्य आफ्नो प्रमुख प्राथमिकता रहेको बताउनुभयो।
प्रधानमन्त्री ओलीले शुभकामना सन्देशलाई व्यवहारिक रूपमा सार्थक बनाउन सेवाग्राहीलाई सकारात्मक भावका साथ सेवा प्रवाह गर्न राष्ट्रसेवक कर्मचारीहरूलाई आग्रह गर्नुभएको छ। उहाँले भ्रष्टाचार नहटाएसम्म विकास सम्भव नभएको उल्लेख गर्दै मुलुकलाई ग्रे लिस्टबाट हटाउन सम्पत्ति शुद्धीकरणलगायत आवश्यक सुधारात्मक कदम चाल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
प्रधानमन्त्री ओलीले ठेक्कापट्टामा अनियमितता नगर्ने र कमिसनका लागि विकास निर्माण रोक्ने नीति नअपनाउने स्पष्ट पार्दै, पारदर्शिता र इमानदारीताका साथ सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो। कार्यक्रममा गृहमन्त्री रमेश लेखक, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, सरकारका मुख्यसचिव एकनारायण अर्याल, सचिवहरू, तथा राष्ट्रसेवक कर्मचारीहरूको उपस्थिति रहेको थियो।
यसैबीच, प्रधानमन्त्री ओली नेकपा (एमाले) केन्द्रीय कार्यालय च्यासलमा आयोजित जन्मोत्सव कार्यक्रममा पनि सहभागी हुनुभएको छ।