बाग्मती नदीको पुल मर्मत सुरू, फागुन २ गतेभित्र सञ्चालनमा आउने लक्ष्य

बाग्मती नदीको पुल मर्मत सुरू, फागुन २ गतेभित्र सञ्चालनमा आउने लक्ष्य

माघ २९ , सर्लाही – पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत रौतहट र सर्लाहीको सिमानामा रहेको बाग्मती नदी पुलको मर्मत कार्य सुरू भएको छ। डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरले डेढ किलोमिटर लामो ड्राइभर्सन बनाएर पुल मर्मत सुरू गरेको हो।

केही दिनअघि पुलको बिम (गिर्डर) चर्किएपछि मर्मत आवश्यक परेको थियो। कार्यालय प्रमुख अरुणकुमार कर्णका अनुसार, पुलको पूर्वतर्फ ४ र ५ नम्बर स्परमाथि जडान गरिएको बिम झण्डै ८ सेन्टिमिटर चर्किएको छ।

नेपाल-सोभियत सङ्घको सहयोगमा करिब ५५ वर्षअघि निर्माण भएको यो पुल माघ २६ गतेबाट डाइभर्सन बनाइ २८ गतेदेखि मर्मत कार्य सुरू गरिएको हो। पुलमा उच्च गुणस्तरको कङ्क्रिट हालेर आधुनिक प्रविधिबाट ढलान गरिँदै छ। साथै, अन्य बिमहरूको सरसफाइ तथा बेरिङ र कङ्क्रिटको अवस्था पनि जाँचिने छ।

सधैं व्यस्त रहने पुलको मर्मत यथाशीघ्र सकाएर फागुन २ गतेदेखि सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ। पुल महाशाखाको निरीक्षणपछि प्राप्त सुझावअनुसार मर्मत कार्य अगाडि बढाइएको प्रमुख कर्णले जानकारी दिएका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *