मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले ठूलो परिमाणमा चरेस, अफिम र गाँजा सहित तीन जना पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको हरियाणा राज्यका दुई नागरिक र पर्साका एक युवक रहेका छन्।
भारतीय नागरिक २५ वर्षीय कुनाल गोथ्वाल र २० वर्षीय मनिस कुमार लाई २१ किलो ४६० ग्राम चरेस र ३ किलो ४७० ग्राम अफिम सहित नियन्त्रणमा लिइएको हो। उनीहरू डिएल ८ सिएक्स १२२४ नम्बरको भारतीय कारमा लागुऔषध लुकाएर भारततर्फ लैजाँदै गर्दा मकवानपुरको थाहा नगरपालिका-११ टिस्टुङ नौखण्डे मा पक्राउ परेका हुन्।
यसैगरी, १०१ किलो गाँजा सहित २० वर्षीय राजन रारुत कुर्मी पक्राउ परेका छन्। चितवनबाट वीरगञ्जतर्फ जाँदै गरेको डिएल १३ सी १५६१ भारतीय कारमा लुकाइएका गाँजा मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटे मा बरामद गरिएको हो।
प्रहरीले पक्राउ परेका तीनै जनालाई कानुनी प्रक्रिया अघि बढाइसकेको छ। लागुऔषध ओसारपसारको बढ्दो गतिविधिलाई रोक्न प्रहरी सक्रिय रहेको जनाएको छ।
