भोगेन्द्र ठाकुर हत्याः आरोपितलाई पक्रेर मुद्दा चलाउने सहमतिपछि आन्दोलन स्थगित –

जनकपुरधामः हत्यामा संलग्नको आरोपितलाई पक्राउ गरेर मुद्दा चलाउनेलगायत विषयमा सहमति भएपछि भोगेन्द्र ठाकुर मृत्युको विषयमा आन्दोलनरत पीडितहरू आठबुँदे सहमति गर्न राजी भएका छन्।

धनुषाको धनुषाधाम नगरपालिका-२ का भोगेन्द्र ठाकुरको हत्या मिटरब्याजी शिवजी राय यादवलगायतले गरेका भन्दै उनका आफन्त र मिटरब्याजपीडितले संघर्ष समिति बनाएर आन्दोलन गरेका थिए।

आज यस विषयमा पीडित र स्थानीय प्रशासनबीच आठ बुँदे सहमति भएको हो। आरोपित यादवलगायत व्यक्तिलाई पक्राउ गरी जाहेरीबमोजिम कारबाही गर्ने, मृतक भोगेन्द्रलाई शहीद घोषणाका लागि गृह मन्त्रालयलाई अनुरोध गर्ने, मृतकका बालबालिकालाई निःशुल्क शिक्षा, मिटरब्याजसम्बन्धी उजुरीउपर सुनुवाइ गर्नेलगायत सहमति पनि भएको छ।

ठाकुरकी श्रीमती श्यामुकुमारीलाई निःशुल्क उपचार र रोजगारीको व्यवस्था मिलाउने, किरिया खर्च दिने, नाबालक दुई छोरीको पालनपोषण एवं विश्वविद्यालय सम्मको निःशुल्क शिक्षाको लागि गृह मन्त्रालयमा अनुरोध गर्ने सहमति भएको छ।

त्यस्तै मृतकको मिटरब्याज सम्बन्धी मुद्दामा कानुनबमोजिम छिटोछरितो समाधान गर्न गृह मन्त्रालयमा अनुरोध गर्ने, मृतकको परिवारलाई जग्गा भोगचलन गर्न शान्ति सुरक्षाको व्यवस्था मिलाउने र मृतकका विषयमा भएका आन्दोलनका कार्यक्रम स्थगित गर्ने सहमति भएको मिटरब्याज पीडित संघर्ष समितिका अध्यक्ष मनोज पासवानले जानकारी दिए।

साउन १५ गते बिहान साढे ११ बजे घरमै बसिरहेको अवस्थामा केही मानिसको कुटपिटबाट गम्भीर घाइते भोगेन्द्र ठाकुरको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको थियो। उक्त क्रममा ठाकुरकी ३५ वर्षीया श्रीमती पनि घाइते भएकी थिइन्।

सोमबार स्थानीय ४५ वर्षीया सुरजी मुखिया र उनका छोरा २१ वर्षीया नागेश्वर मुखियाको कुटपिटबाट ठाकुरको मृत्यु भएको थियो।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *