महोत्तरी : महोत्तरीमा क्रसर उद्योगको खाडलमा डुबेर बालकको मृत्यु भएको छ। महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका-६ स्थित रातुखोलामा क्रसर उद्योगले बनाएको खाडलमा डुबेर १३ वर्षीय बालक रिदम विश्वकर्माको मृत्यु भएको छ।
इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी रेवतीरमण पोखरेलका अनुसार, शनिबार बिहान पौडी खेल्न भनी घरबाट निस्किएका रिदम घर नफर्किएपछि खोजतलास गर्ने क्रममा आइतबार दिउँसो १ बजे मृत अवस्थामा भेटिएका थिए। उत्खननको मापदण्डविपरीत क्रसर उद्योगले २० फिटमाथिका खाल्डा बनाएको उक्त क्षेत्रमा वर्षाको पानी जमेर पोखरी बनेको थियो।
स्थानीयहरूले बताए अनुसार, बालबालिकाहरू उक्त पोखरीलाई पौडी खेल्न प्रयोग गर्ने गरेका छन्। यसअघि पनि बर्दिवास–१४ का १६ वर्षीय रोशन मिश्रको यस्तै खाडलमा डुबेर ज्यान गएको थियो।