वागमती प्रदेशमा कांग्रेस र एमालेबीच मन्त्रालय भागबण्डा टुंगियो

वागमती प्रदेशमा कांग्रेस र एमालेबीच मन्त्रालय भागबण्डा टुंगियो: कांग्रेसले ७ र एमालेले ६ मन्त्रालय

हेटौंडा। वागमती प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमालेबीच मन्त्रालय भागबण्डा टुंगिएको छ। कांग्रेसले मुख्यमन्त्रीसहित ७ र एमालेले ६ वटा मन्त्रालय लिने गरी सहमति भएको छ। सोमबार मन्त्रालय भागबण्डा नमिल्दा र एमालेभित्र मन्त्री छनौटको आन्तरिक समस्याले मुख्यमन्त्रीमा कांग्रेसका बहादुरसिं लामाको दावी पेश गर्ने पूर्वनिर्धारित कार्यक्रम रोकिएको थियो। आज बिहान ११ बजे कांग्रेस संसदीय दलका नेता लामाले मुख्यमन्त्रीमा दावी पेश गर्नेछन्।

अघिल्ला मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पदबाट आइतबार राजीनामा दिएपछि प्रदेश प्रमुख यादवचन्द्र शर्माले मंगलबारसम्मको समय दिएर बहुमतको सरकार गठनका लागि आह्वान गरेका थिए। सोही आह्वान अनुसार लामाले एमालेसहितका दलको समर्थनमा मुख्यमन्त्रीमा दावी पेश गर्ने र प्रदेश प्रमुख शर्माले आजै साँझ लामालाई मुख्यमन्त्रीमा नियुक्त गर्ने तयारी छ।

हेटौंडास्थित एक होटलमा आइतबार बेलुका कांग्रेस र एमालेबीच मन्त्रालय बाँडफाँटका लागि बैठक बसेको थियो। उनीहरूबीच युवा तथा खेलकुद मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालय ककसले लिने भन्नेमा सहमति जुटेको थिएन। पछि एमालेले मागेअनुसार नै कृषि मन्त्रालय पाएको छ भने कांग्रेसले खेलकुद मन्त्रालय लिएको छ।

कांग्रेस नेता लामाले एमालेलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालय दिएर भागबण्डा टुंग्याइएको जानकारी दिए। १३ सदस्यीय मन्त्रिपरिषद् रहेको बागमतीमा कांग्रेसले मुख्यमन्त्रीसहित ७ वटा र एमालेले ६ वटा मन्त्रालय लिने छ। कांग्रेसले मुख्यमन्त्रीसँगै यसअघि माओवादीले सम्हालेको आन्तरिक मामिला तथा कानुन मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय, संस्कृति, पर्यटन तथा सहकारी, युवा तथा खेलकुद र श्रम रोजगार तथा यातायात मन्त्रालय लिएको छ।

एमालेले आर्थिक मामिला तथा योजना, खानेपानी, ऊर्जा तथा सिँचाइ, वन तथा वातावरण, स्वास्थ्य, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन र कृषि तथा पशुपन्छी विकास मन्त्रालय लिएको छ। एमालेमा मन्त्री छनौटलाई लिएर समस्या भएको सांसदहरूले बताएका छन्। दलका नेता थपलियाले आइतबार बेलुका पार्टी केन्द्रीय नेतृत्वसँग मन्त्री छनौट र मन्त्रालय भागबण्डा लगायतको विषयमा छलफल गरेका थिए। आज मंगलबारभित्र दुवै दलले मन्त्रीहरूको नाम टुंग्याएर बुधवार मुख्यमन्त्रीसहित १३ जना मन्त्रीहरूको एकैपटक सपथ गराउने तयारीमा जुटेको उनले जानकारी दिए।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *